एजेन्सी / अमेरिकी सेनाले मार्च महिनामा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको तर त्यसलाई चुपचाप राखेको खबर सार्वजनिक भएको छ। रुससँगको तनाव बढ्ने डरका कारण अमेरिकाले परीक्षणलाई गोप्य राखेको सीएनएनले जनाएको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनमाथि रुसको आक्रमणका विषयमा चर्चा गर्न युरोपको भ्रमण गरेताका नै मार्च महिनाको मध्यतिर यो परीक्षण गरिएको हो । तर यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । अमेरिकाको पश्चिमी तटबाट यो परीक्षण गरिएको हो । हाइपरसोनिक क्षेप्यास्त्रलाई बी–५२ बम्बर विमानबाट प्रक्षेपण गरिएको थियो ।

OM Sai Pathibhara Hospital

क्षेप्यास्त्रका बुस्टर इन्जिनहरूले त्यसलाई उच्च गतिमा धकेल्छन् र त्यसपछि स्क्रामजेट इन्जिन चल्न थाल्छ । त्यसले क्षेप्यास्त्रलाई ध्वनिको भन्दा पाँच गुणा गतिमा प्रक्षेपण गर्छ, अमेरिकाको डिफेन्स एड्भान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सीले जानकारी दियो ।

त्यो क्षेप्यास्त्र ६५ हजार फीटभन्दा माथिको उचाइमा पुगेर ३०० माइल परसम्म गएको थियो । त्यति गर्न त्यसलाई पाँच मिनेट लाग्यो । उक्त परीक्षणबाट आफ्ना सबै लक्ष्यहरू पूरा भएको डार्पाले बतायो ।

रुस र अमेरिकाबीचको तनाव चरममा पुगेको बेलामा अमेरिकाले यो परीक्षण गरेको हो । केही दिनअघि रुसले आफ्नै हाइपरसोनिक क्षेप्यास्त्र किन्जाल पश्चिमी युक्रेनको एक हतियार भण्डारमा प्रहार गरेको थियो ।