एजेन्सी / हालै नेक्स्टा मिडिया सङ्गठनले पोस्ट गरेको एक तस्बिरमा एउटा कुकुर युक्रेनको किएभ क्षेत्रमा आफ्नो मालिकको शवको छेउमा बसेको देखिन्छ । पूर्वी युरोपेली मिडिया संगठन (नेक्स्टा) का अनुसार ती व्यक्तिलाई रुसी सेनाले मारेको थियो । 

सेनाले आफ्नो मालिकको हत्या गरेपछि पनि कुकुरले त्यहीँ कुरेर बसिरह्यो । यो फोटोले सन् १९३० को दशकमा आफ्ना मालिकको मृत्युपछि नौ वर्षसम्म आफ्नो मालिकको प्रतीक्षा गर्ने जापानी कुकुर हाचिकोको कथाको सम्झना गराउँछ ।

OM Sai Pathibhara Hospital

युक्रेन र रुसबीच भएको युद्धका क्रममा किएभनजिकैका क्षेत्रबाट रुसी सेना फर्किएपछि त्यहाँ डरलाग्दो मानवीय क्षतिका तस्बिरहरु सार्वजनिक भइरहेका छन् । यी मध्ये ३७ हजार मानिस बसोबास गर्ने बुचा नगरबाट रुस फर्किएपछि युक्रेनी सेना बुचा पुगेको थियो ।

उनीहरू त्यहाँ पुग्दा भौतिक संरचना, युद्धका सवारीहरू क्षतिग्रस्त भएको विध्वंसात्मक दृश्यहरू देखे । सेना र स्थानीयले बुचाका सडकमा लडिरहेका हात पछाडि बाँधेर हत्या गरेका २० वटा शव देखेका थिए ।

त्यसबाहेक सोमबार त्यहाँ पुगेका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तीन सय सर्वसाधारणको हत्या भएको दाबी गरेका छन् साथै अन्तर्राष्ट्रिय समुदायले यसलाई रुसले गरेको नरसंहार भन्दै आक्रोश व्यक्त गरेका छन् ।