एजेन्सी / संयुक्त राष्ट्र संघले रुस विरुद्ध ल्याएको प्रस्तावको विपक्षमा मतदान गरेपछि बङ्गलादेशको आलोचना भइरहेको छ।
आलोचना बढेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसीनाले संसद्मा यसबारे प्रष्टीकरण दिएकी छन्। संयुक्त राष्ट्र संघले एकमात्र देशको विरुद्धमा प्रस्ताव ल्याएकोले विपक्षमा मतदान गर्नुपरेको उनको भनाइ रहेको छ।

शेख हसीनाले बंगलादेश र रुसबीचको मैत्रीपूर्ण सम्बन्धको पनि चर्चा गरेकी छन्। उनले भनिन्, ‘सन् १९७१ को स्वतन्त्रता संग्रामको समयमा अमेरिकाले बंगालादेश विरुद्ध बङ्गालको खाडीमा जहाज पठाएको थियो। त्यतिबेला रुस हाम्रो साथमा खडा थियो। सङ्कटको समयमा सधैँ रुस हाम्रो साथमा रह्यो। त्यसैले हामीले पनि उसको साथ दिनुपर्छ।’
राष्ट्र संघको प्रस्तावमा युद्ध रोक्ने कुरा नभई मानव अधिकारको कुरामात्र उठाइएको भन्दै हसीनाले रुसलाई लक्षित गरेर मात्र प्रस्ताव ल्याइएको जिकिर गरिन्।