एजेन्सी / भारतको विद्युत नियमन आयोगले विद्युत्को अधिकतम मूल्य प्रति युनिट १८ रुपियाँ घटाएको छ । आयोगले सोमबारदेखि लागू हुने गरी भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको हो । 

यस अघि ३८ रुपियाँ तोकेको विद्युत मूल्य २० रुपियाँ तोकेको हो । रुस–युक्रेन युद्धका कारण भारतका कोइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको भन्दै गत सातादेखि भारतको विद्युत नियमन आयोगले विद्युतको मूल्य अधिकतम ३८ रुपियाँ तोकेको थियो ।

OM Sai Pathibhara Hospital

आयोगले ‘डे अहेड’मार्केटमा  प्रति युनिट अधिकतम भारु १२ रुपियाँसम्म मात्रै बिजुली किनबेच हुने भएको हो । भारतीय बिजुलीको मूल्यमा कमी आएसँगै नेपाललाई करोडौं रुपियाँ राहत पुगेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिएका छन् । 

सुख्खा समयमा पानीको सतह घटे पनि माग अनुसार नेपालमा विद्युत उत्पादन कमी भएपछि प्राधिकरणले विद्युत आपूर्ति गर्न भारतबाट आयात गर्दै आएको छ । प्राधिकरणले २० रुपियाँमा विद्युत खरिद गरेर ९ देखि ११ रुपियाँमा बिक्री गर्नुपर्ने बाध्यता रहेको जनाएको छ ।

अझै नेपालले सुख्खा मौसम सक्ने समय अर्थात डेड महिनासम्म भारतको यो ‘डे अहेड मार्केटबाट विद्युत खरिद गरी आपूर्ति गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणले जनाएको छ । हाल नेपालमा १६सय ५० मेगावाट विद्युत माग रहेको छ भने २४ घण्टाको पिकिङ उत्पादन भने १४ सय मेगावाट रहेको प्राधिकरणले जनाएको छ । 

गतवर्ष ८०० मेगावाट विद्युत भारतबाट आयात गर्नुपरेको थियो भने यस वर्ष ३५० मेगावाट मात्र आयात गर्दै आएको जनाएको छ । यो कुल खपतको ३० प्रतिशत हो । हाल प्राधिकरणले १२ हजार आवर विद्युत भारतबाट आयात गर्दै आएको छ । प्राधिकरणले अझै डेढ महिना भारतबाट विद्युत आयात गर्नुपर्ने जनाएको छ । 

जेठ अन्तिमदेखि भने नेपालको कुल उत्पादन दुई हजार मेगावाटसम्म पुग्ने भएकाले भारतलाई पाँच सय मेगावाटसम्म विद्युत बिक्री गर्ने लक्ष्य प्राधिकरणले राखेको छ भने थप आठ सय मेगावाट विद्युत भारतमा निर्यात गर्ने गरी प्रक्रिया अघि बढाइसकेको जनाएको छ । विद्युत महँगो हुँदा प्राधिकरणलाई आठ अर्ब नोक्सान हुने भएको छ ।