झापा / एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कानुन विपरीत फोन ट्यापिङ गर्ने मेसिन खरिद गरेको पाइएको छ । 

नेपालमा व्यक्तिको फोन ट्यापिङ गर्नु गैरकानुनी मानिए पनि प्रधानमन्त्री ओलीले इजरायलबाट गृहमन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभागका लागि २८ करोड रुपैयाँ खर्च गरेर उक्त मेसिन खरिद गरेको पाइएको हो । 

OM Sai Pathibhara Hospital

ओलीले विभागबाट २०७६ साल मङ्सिरमा गभर्मेन्ट टु गभर्मेन्ट (जी टु जी) प्रकिया मार्फत इजरायली कम्पनीबाट इन्टेलिजेन्स मोनिटरिङ सिस्टमका नाममा मेसिन खरिद गरेको अनुसन्धान विभागको स्रोतले जनाएको छ । 

मन्त्रिपरिषद्ले फोन ट्यापिङ सम्बन्धी प्रविधि खरिद गर्न २०७६ साल जेठ २३ मात्र अनुमति दिएपनि प्रधानमन्त्री ओलीले त्योभन्दा पहिलानै खरिद प्रक्रिया अघि बढाएको पाइएको छ । 

नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ओलीले २०७६ साल मंसिर २५ गते संसद्मा दर्ता गरेका थिए । उक्त विधेयक राष्ट्रिय सभाबाट २०७६ साल चैतमै पारित भए पनि नेपाली कांग्रेस र नेकपा माओवादीले विरोध गरेपछि प्रतिनिधि सभाबाट भने पारी हुन सकेको छैन । 

मेसिन खरिद गरेसँगै विभागले टेलिकमसँग मिले केही व्यक्तिहरूको फोन ट्यापिङ समेत गरेको विभागको स्रोतका दावी छ । 

सरकारले विभागका लागी मेसिन खरिद गरेपनि मेसिन खरिदसम्बन्धी भ्रष्टाचारमा फसिने डरले विभागका कतिपय कर्मचारीले मेसिन खरिद गर्ने कागजातमा हस्ताक्षर नगरेको विभागका एक जना कर्मचारीले बताएका छन् । 

विशेष सेवा गठन, सञ्चालन सम्बन्धी विधेयक पारित भएमा सरकारी अधिकारीले निगरानीमा राख्न चाहेको व्यक्तिको फोन सुन्न, रेकर्ड गर्न र इमेल पढ्न सक्ने व्यवस्था छ । नयाँपत्रिकाबाट