एजेन्सी / रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभ बुधबार चीन आइपुगेका छन् । अफगानिस्तानका छिमेकी मुलुकहरूबीचको तेस्रो बैठकमा भाग लिन लाभ्रोभ चीन आइपुगेका छन् ।

रुसी समाचार एजेन्सी तासका अनुसार बुधबार लाभ्रोभ चिनियाँ सहर टुन्सीमा ओर्लिएका हुन् । रुसको मन्त्रालयका अनुसार लाभरोभले बुधबार चिनियाँ समकक्षी वाङ यी लगायत अन्य चिनियाँ शीर्ष अधिकारीहरूसँग पनि वार्ता गर्नेछन् ।

OM Sai Pathibhara Hospital

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता पहिलोपटक रुसी विदेशमन्त्रीले चीनको भ्रमण गरेका हुन् । चीनको भ्रमण सकेर बिहीबार लाभ्रोभ भारत भ्रमणमा जानेछन् ।

अफगानिस्तानका छिमेकी मुलुकबीचका पहिलो बैठक गत अक्टोबर २१ मा रुसको मस्कोमा भएको थियो। दोस्रो बैठक इरानको तेहरानमा अक्टोबर २७ मा भएको थियो ।

यो बैठकमा रुस, चीन, ताजिकिस्तान, इरान, पाकिस्तान, तुकेमेनिस्तान र उज्वेकिस्तान सहभागी हुँदै आएका छन् ।