एजेन्सी / युक्रेन युद्धका कारण ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरका अनुसार देश छोडेका शरणार्थीहरू थकित र निराश महसुस गरेका छन् । यूनएचसीआरका अनुसार मङ्गलबारसम्म ३९ लाख युक्रेनीले देश छाडेका छन् ।

पछिल्ला दिनमा शरणार्थीहरूको दैनिक प्रवाह ४० हजार छ । ‘निश्चित रूपमा विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्ध पछिकै अप्रत्याशित हो’, यूएनएचसीआरका प्रवक्ता म्याथ्यु साल्टमार्शले भने ।

OM Sai Pathibhara Hospital

‘हामीले लाखौं मानिसहरूलाई सीमामा आइपुगेको देखिरहेका छौँ ’, रेड क्रस र रेड क्रिसेन्ट सोसाइटिज (आईएफआरसी) को अन्तर्राष्ट्रिय महासङ्घका अध्यक्ष फ्रान्सेस्को रोक्काले भने, ‘ मानिसहरू शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित र तनावग्रस्त छन् ।’

युक्रेनी शरणार्थीहरू बाहेक, देशमा बसोबास गर्ने, अध्ययन गर्ने र काम गर्ने करिब दुई लाख गैर–युक्रेनीहरू पलायन भएको राष्ट्रसंघको आप्रवासी अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको छ ।