एजेन्सी / रसियाली रक्षा मन्त्रालयले किभचेर्निहिव क्षेत्रमा सैन्य गतिविधिलाई निकै कम गर्ने घोषणा गरेको छ । रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले यसबारे जानकारी गराएका छन् ।

रुस र युक्रेनबीच आपसी विश्वास बढाउने र थप वार्ताका लागि आवश्यक अवस्था सिर्जना गर्ने निर्णय गरिएको समयमा रुसको उक्त निर्णय सार्वजनिक भएको हो । टर्कीको इस्तानबुलमा भएको मस्को–किभ शान्तिवार्ताको नयाँ चरणपछि फोमिनले यस्तो बताएका हुन् ।

OM Sai Pathibhara Hospital

मङ्गलबारको वार्तामा युक्रेनको तटस्थता र गैर आणविक स्थितिका साथै युक्रेनलाई सुरक्षाको प्रत्याभूति दिने विषयमा सम्झौताको तयारीमा प्रगति भएको उनले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने शान्तिवार्ताको प्रारम्भिक संकेत सकारात्मक देखिएको भए पनि ठोस नतिजालाई मात्र किभले विश्वास गर्ने बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले अवस्था सहज नभएकोले प्रतिरक्षात्मक कदमहरूलाई खुकुलो नपार्ने बताएका छन् ।