विराटनगर / मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको हिंस्रक घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका मध्ये २० जनामाथि  प्रहरीले कर्तव्य ज्यान मुद्दामा कानुनी कारवाही अघि बढाएको छ ।

लेटाङको खेरुवा – ५ स्थित शिक्षा सेवा सेवा माविका शिक्षक मनोज पौडेलले आफ्नै विद्यालयकी छात्रामाथि यौन र्दुव्यवहार गरेको विषयमा स्थानीय र प्रहरीबिच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान गएको थियो ।

महिला प्रहरीको ज्यान जाने गरी भएको हिंस्रक घटना पछि प्रहरीले घटनामा संलग्न भएको अभियोगमा नियन्त्रणमा लिएका ४९ जना मध्ये छानविनका क्रममा दोषी पाइएका २० जनामाथि कर्तव्य ज्यान मुद्दामा कानुनी कारवाही अघि बढाएको हो ।

घटनापछि परिचालित प्रहरीले हत्यामा संलग्न रहेको अभियोग लागेको भन्दै नियन्त्रणमा लिएका सबैमाथि अभद्र व्यवहारको मुद्दामा थुनामा राखेर अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका क्रममा दोषी पाइएका मध्ये २० जनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरी अदालतबाट म्याद थपेर मुद्दा अघि वढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

हत्या अभियोगमा पक्राउ पक्राउ परेका मध्ये बाँकी रहेका २९ जनाका विषयमा भने अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–५ की १८ वर्षीया निशा पुलामी मगर, ४८ वर्षीय भन्द्रकान्त लामा, २५ वर्षीय रविन राई, २३ वर्षीय प्रदीप राई, २० वर्षीय रविन तामाङ, सञ्जीव प्रधान, प्रनिश कट्टेल, जस्वीन पाख्रिन, सुनिल लिम्बू, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ, १९ वर्षीय सञ्जय मगर र १८ वर्षीय सुरज अधिकारी रहेका छन् ।
 
त्यसैगरी लेटाङ–६ का १८ वर्षीय सन्तोष पौडेल, राम राई, बलराम भनिने पालाराम राई, २० वर्षीय हिमाल श्रेष्ठ, श्रवण यादव र मोरङकै मिक्लाजुङ गाउँपालिका २ घर भइ लेटाङ–५ का २० वर्षीय कृष्ण बिक रहेका छन् ।

उनीहरु विरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा कानुनी कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।