एजेन्सी / एसियाले महाशक्तिहरूको चेसबोर्ड बन्न अस्वीकार गरेको र महाशक्ति बीचको भिडन्तको मोहरा नबनेको चीनका परराष्ट्रमन्त्री वाङ यीले बताएका छन् ।

नेपाल लगायत दक्षिण एसियाका चार मुलुकको भ्रमण सम्पन्न गरी बेइजिङ पुगेका वाङले सोमवार यो टिप्पणी गरेका हुन् । यस क्षेत्रका मानिसले कठिनतापूर्वक प्राप्त शान्ति, स्थिरता र विकासलाई कायम राख्नुपर्ने उनको भनाइ छ ।

युक्रेन सङ्कटको असर संसारभरि फैलिरहेको बेलामा अनि विश्व शान्ति र विकासले नयाँ चुनौती सामना गरिरहेको समयमा वाङले दक्षिण एसियाको भ्रमण गरेका हुन् ।

यस भ्रमणले चीन र दक्षिण एसियाली राष्ट्रहरूको परम्परागत मित्रतालाई बलियो बनाएको उनले बताए । अन्तर्राष्ट्रिय परिस्थिति जतिसुकै बदलिए पनि चीनले छिमेकीहरूसँगको सम्बन्धलाई चीनले महत्त्व दिएको उनको भनाइ छ ।

नेपाल भ्रमणको चर्चा गर्दै वाङले दुई देशबीच पारस्परिक समझदारी र समर्थन मित्रताको परम्परा अनुकूल भएकोमा दुवै पक्षले सहमति जनाएको बताए ।

दुई देशले बेल्ट यान्ड रोड इनिसिएटिभमा सहकार्य बढाउने, महत्त्वपूर्ण संयुक्त परियोजनाहरूलाई अघि बढाउने, स्थल बन्दरगाहलाई सुसञ्चालन गर्ने, सीमापार सहकार्यको खोजी गर्ने र बहुआयामिक हिमालयपार सम्पर्क सञ्जाल क्रमशः बनाउने सहमति जनाएको पनि वाङले बताए ।

नेपाल र चीन दुवैले आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्त पालन गर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने आधारभूत सिद्धान्तलाई अनुपालन गर्ने, एकपक्षीयतालाई अस्वीकार गर्ने र शक्ति राजनीतिको विरोध गर्ने विषयलाई जोड दिएको पनि वाङको भनाइ छ ।