एजेन्सी / भारतको पश्चिमबंगाल विधानसभामा आइतबार विधायकबीच हात हालाहाल भएको छ । पश्चिमबंगालको बीरभूममा भएको हत्याकाण्डलाई लिएर विधानसभामा हात हालाहाल भएको हो ।

तृणमूल कांग्रेस र बीजेपी विधायकबीच भएको हानाहानमा तृणमूल कांग्रेसका विधायक असित मजूमदार घाइते भएका छन् । उनको एसएसकेएम अस्पतालमा उपचार भइरहेको छ । 

OM Sai Pathibhara Hospital

उनले विपक्षी नेता शुभेंदु अधिकारीको मुक्काले आफ्नो नाक भाँचिएको बताएका छन् । विधानसभामा हंगामा भइरहँदा मुख्यमन्त्री ममता बनर्जी भने दार्जीलिंगको भ्रमणमा छिन् । विधानसभामा हानाहानपछि नेताहरूबीच आरोपप्रत्यारोप चलेको छ । वरिष्ठ टीएमसी नेता फिरहाद हकीमले सदनमा भएको अशान्तिका लागि विपक्षी नेता शुभेंदु अधिकारी जिम्मेवार रहेको बताएका छन् । उनले अधिकारीले गुण्डागर्दी गरेको टिप्पणी गरेका छन् । 

भाजपा नेता शुभेंदु अधिकारीले सादा पोसाकका सुरक्षाकर्मी लगाएर भाजपा विधायकमाथि मारपिट गरिएको आरोप लगाएका छन् । सोमबार बजेट अधिवेशनको अन्तिम दिन भाजपा विधायकले सुरुदेखि नै हंगामा गरेका थिए । त्यसपछि सत्तारुढ दलका विधायक र भाजपा विधायकबीच हानाहान भएको हो ।