झापा //मोरङको  लेटाङ्गमा विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना सेलाउन नपाउँदै झापामा पनि एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना सार्बजनिक भएको छ।

लेटाङ्गको खेरुवास्थित शिक्षा विकास माबि मा एकसाता अघि भएको सो घटनाका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान नै गएको थियो।

OM Sai Pathibhara Hospital

झापाको हल्दिबारी गाउँपालिका – १ गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीमा अध्ययनरत १३ वर्षीया छात्रा  पनि आफ्नै शिक्षकको यौन दुर्व्यवहारमा परेकी हुन्। 

यौनजन्य दुर्व्यवहारको आरोपमा प्रहरीले बिर्तामोड नगरपालिका– १० निवासी अन्दाजी ४० वर्षीय श्रीप्रसाद सिवाकोटी (सन्दीप) लाई पक्राउ गरेको छ।

छात्रालाई शिक्षक सिवाकोटीले शुक्रबार दिउँसो विद्यालयभित्रै  यौनजन्य  दुर्व्यवहार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

परीक्षा सकेर घर जाँदै गरेकी छात्रालाई शिक्षक सिवाकोटीले यौनजन्य  दुर्व्यवहार गरेको  स्थानीयले बताएका छन्। यौन दुर्व्यवहारमा परेको भन्दै पीडित छात्राले विद्यालयका अन्य शिक्षकसहित अभिभावकलाई तत्काल जानकारी गराएकी थिइन्। आक्रोशित बनेका अभिभावक र छिमेकीहरूले  यौनजन्य  दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कानुनी कारबाहीको माग गर्दै विद्यालय समेत घेराउ गरेका थिए । आक्रोशित भिडले विद्यालयको मे १ क ७८७ नम्बरको स्कुल बस समेत तोडफोड गरेको थियो। 

लगत्तै प्रहरी चौकी गोलधाप र प्रहरी कार्यालय झापाका प्रहरी टोलीले शिक्षक सिवाकोटीलाई शुक्रबार बेलुका घरबाटै पक्राउ गरेको बताइएको छ ।