एजेन्सी / रुसी तेल आयातमा अमेरिका र बेलायतले प्रतिबन्ध लगाएका छन् । अमेरिका र बेलायतले युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्दै रुसमा उत्पादन हुने तेल आयातमा प्रतिबन्ध लगाएका हुन् ।

उक्त प्रतिबन्धले रुसको अर्थव्यवस्थामा ठूलो धक्का पुग्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । त्यस्तै बेलायतले पनि सन् २०२२ को अन्तिमसम्म तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले उक्त निर्णयले रुसमाथि केही समयपछि ठूलो असर देखिने बताएका छन् ।

OM Sai Pathibhara Hospital

अमेरिकामा तेल र अन्य परिष्कृत उत्पादनको ८ प्रतिशत र बेलायतमा तेलको करिब ६ प्रतिशत आयात रुसबाट हुने देखिएको छ । अमेरिका र बेलायतले तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि रुसले पनि कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ सय डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।

रुसले युरोपमा ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल निर्यात गर्ने गरेको रुस विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो । रुसले हरेक दिन ४० देखि ५० लाख ब्यारेल कच्चा तेल र वार्षिक ८ हजार ५ सय अरब क्युबिक फिट प्राकृतिक ग्यास निर्यात गर्ने गरेको छ ।

युरोपका नेताहरूले युरोपमा नयाँ इतिहास बन्न गइरहेको दाबी गरिरहेका छन् । बिहीबार यसै विषयमा कुरा गर्न युरोपेली संघको बैठक बस्न लागेको छ ।

सन् २०३० सम्म विकास र लगानीका साथै ऊर्जा आपूर्तिका लागि नयाँ रुटको खोजी गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । सन् २००८ पछि विश्व बजारमा कच्चा तेलको मूल्य उचाइमा पुगेको छ । सोमबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेको थियो ।