काठमाडौं / रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरूको उद्धार गरिएको छ । युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जनाएका छन् ।

हालसम्म पोल्यान्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेको  समेत  शर्माले बताएका छन् । युक्रेन युद्धबाट बिस्थापित भै विभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरू सुरक्षित भविष्य र बसोबासका लागि तेस्रो मुलुक तिर लागेका हुन् । 

OM Sai Pathibhara Hospital

ती मध्ये करिब ४ दर्जन नेपाली गैरआवासीय नेपाली संघ पोर्चुगलको सम्पर्कमा पुगेको संघका महासचिव राज कुमार थापाले जानकारी दिएका छन् । ती नेपालीहरूलाई एनआरएन  पोर्चुगलले आवश्यक कानुनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग दिइरहेको छ । 

उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा गठित एक उच्चस्तरीय समिति सकृय रहेको समेत थापाले जानकारी दिएका छन् । 

बर्लिनस्थित नेपाली दूतावासका अनुसार युक्रेनबाट विस्थापितहरूलाई नेपाली समुदायकै सहयोगमा बिभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको छ । 

दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकहरूलाई भारत सरकारबाट सञ्चालित उडान मार्फत नेपाल पठाउन आवश्यक पहल समेत भैरहेको जनाएको छ । उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीहरूको नियमित रुपमा तथ्यांक समेत संकलन गर्दै आएको छ ।