काठमाडौँ / रुसले सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युब गायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो । सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि यता रुसी सञ्चारमाध्यमहरूमाथि २६ वटा विभेदपूर्ण व्यवहार गरेको जनाएको छ । साथै युक्रेनसँग संघर्ष चलिरहेका बेला सरकारी सञ्चारमाध्यम आरटीआरआईए न्युज एजेन्सीमाथि प्रतिबन्ध लगाएको पनि रुसले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाका बारेमा फेक न्युज प्रसारण गर्नेलाई १५ वर्ष जेल सजाय हुने कानुनमा समेत हस्ताक्षर गरेका छन् । पछिल्ला केही वर्षमा रुसी सरकार र ठूला प्रविधि कम्पनीबीच विवाद रहँदै आए पनि युक्रेनसँगको सङ्घर्षका बेला झन् चर्किएको हो । त्यस्तै रुसी समाचार संस्था तास र इन्टरफ्याक्स न्युज एजेन्सीले पनि आफूहरूलाई ट्विटरमा प्रतिबन्ध लगाइएको बताएका छन् । ट्विटरले भने यसबारेमा कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

OM Sai Pathibhara Hospital

फेसबुकको प्यारेन्ट कम्पनी मेटाका विश्व मामिला प्रमुख निक क्लेगले भने रुसमा सेवा पुन सुरु गर्नका लागि आवश्यक प्रक्रिया अपनाइएको बताएका छन् । प्रतिबन्धले लाखौँ रुसी नागरिक विश्वसनीय सूचनाबाट वञ्चित हुने र परिवार र साथीहरूसँग कुरा गर्न नपाउने भएकाले छिट्टै नै सेवा सञ्चालन हुने उनको भनाइ छ ।

युक्रेनमाथि गत फेब्रुअरी २४ देखि लगातार आक्रमण गरिरहेको रुसमाथि विभिन्न मुलुकले प्रतिबन्ध लगाएका छन् । त्यसैबीच ठूला कम्पनीमाथि पनि प्रतिबन्ध घोषणा गर्न दबाब दिइएको छ । अल्फाबेट र गुगलले समेत रुसमा विज्ञापन रोकिसकेका छन् । रुस र युक्रेनबीच युक्रेनको उत्तरी, दक्षिणी र पूर्वी क्षेत्रमा नवौँ दिन पनि भीषण संघर्ष जारी रहेको छ