काठमाडौं \ रुस र युक्रेनबीच १० दिनदेखि जारी भीषण युद्धमा युद्धबिरामको घोषणा गरिएको छ । रुसले युक्रेनमा जारी युद्धमा युद्धबिरामको घोषणा गरेको हो । नेपाली समयअनुसार दिउँसो पौने १ बजेदेखि युद्धबिराम लागू भएको छ । रुसको तर्फबाट गरिएको युद्धबिरामको घोषणामा ‘जबसम्म यहाँ फसेका सर्वसाधारणलाई बाहिर निकालिँदैन तबसम्म आक्रमण गरिने छैन’ भनिएको रुसी समाचार एजेन्सी स्पुतनिकले जनाएको छ ।
रुसले लगातार युक्रेनमाथि आक्रमण गरिरहेको छ । यही बीचमा रुसले युद्धबिरामको घोषणा गरेको खबर आएको हो । रुस र युक्रेनबीच २ चरणमा वार्ता पनि भएको छ र तेस्रो चरणको वार्ता सम्भवतः आज वा भोलि सुरु हुँदैछ । युक्रेनमा त्यहाँका सर्वसाधारण नागरिकदेखि विदेशी नागरिकहरू समेत फसेका छन् । फस्नेहरुमा केही नेपाली पनि भएको बताइएको छ । यी फसेकाहरूलाई युद्धबिरामले ठूलो राहत दिने अपेक्षा गरिएको छ ।
शनिबार युद्धबिरामको घोषणाभन्दा पहिले किभ नजिकै बुकामा रुसी सेनाले आम जनतामा गोली चलाएको दावी गरिएको छ । युक्रेनको मिडियाले दावी गरेअनुसार रुसको सेनाले बुकामा एक कारमा फायरिङ गरेको हो ।