काठमाडौंयुक्रेनविरुद्ध रुसको आक्रमण तीब्र भएको छ । यो युद्धमा रुसले युक्रेनको कडा प्रतिरोधको सामना गर्नु परिरहेको छ । यही बीच बेलायती मिडियाले आशंका व्यक्त गरेको छ कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई छिटो घुँडा टेकाउनको लागि आफ्नो सबैभन्दा घातक हतियारमध्येको एक ‘फादर अफ अल बम’ प्रयोग गर्न सक्छन् ।

रुसको यो बमलाई एभिएसन थर्मोबेरिक बम अफ इनक्रिज्ड पावर अर्थात एटीबीआइपी भनिन्छ । हुन त यो परमाणु बम होइन तर यसले पनि निधै धेरै विनाश गर्न सक्छ । रुसले यो बमको विकास २००७ मा गरेको हो । यसबाट ४४ टन बराबरको विस्फोट हुन सक्छ । यो बमले आफ्नो आसपासको ३०० मिटर टाढासम्म क्षेत्रलाई खरानी बनाउन सक्छ ।

OM Sai Pathibhara Hospital

यो बमको तौल करिब १५ हजार ५६० पाउण्ड अर्थात ७ हजार १ सय किलो छ । यो बम एक थर्मोबेरिक हतियार हो जसलाई एयरोसोल बम, भ्याकुम बम वा फ्युल एयर एक्सप्लोसिभ पनि भनिन्छ । रुसको यो घातक बम अमेरिकाको ‘मदर अफ अल बम’ भन्दा ४ गुणा शक्तिशाली छ । यो बमको विशेषता यो हो कि यसले वातावरणमा रहेको अक्सिजन सोसेर जमिनमाथि विस्फोट गर्छ ।

यो बम विस्फोटपछि अत्याधिक तापक्रम र सुपरसोनिक विस्फोट तरंग वा शकवेभ उत्पन्न हुन्छ जसले आफ्नो बाटोमा आउने ठूला भवनदेखि मानिसहरू सबैलाई मेटाउन सक्छ । यो बमलाई जेट विकानबाट खसालिन्छ त्यसपछि यो जमिनभन्दा केही फिट माथि हावामै विस्फोट हुन्छ र एउटा सानो परमाणु बमले जति नोक्सानी गर्छ । यसको प्रयोगबाट असीमित ऊर्जा र गर्मी उत्पन्न हुन्छ जसले आसपासमा रहेका जीवित चीजहरूलाई पलभरमै खरानी बनाउन सक्छ । यो भ्याकुम बम मानव शरीरलाई बाफमा बदल्न र सहरलाई भग्नावशेषमा बदल्न सक्षम छ ।

रुसको ‘फादर अफ अल बम’ र अमेरिकाको ‘मदर अफ अल बम’ थर्मोबेरिक हतियारको घातक संस्करण हुन् । थर्मोबेरिक हतियारको विकास सोभियत संघ र अमेरिकाले १९६० को दशकमै सुरु गरेका थिए । थर्मोबेरिक बमले उच्च तापमानयुक्त विष्फोट गर्नको लागि वातावरणमा भएको अक्सिजन प्रयोग गर्छ । आम विष्फोटका तुलनामा थर्मोबेरिक बम कयौं गुणा धेरै ऊर्जा र शकवेभ उत्पन्न गर्छ ।

थर्मोबेरिक बम पानीभित्र, धेरै उचाइ र प्रतिकूल मौसममा प्रयोग गर्न सकिन्न । यी बमको प्रयोग किल्लाबन्दी, सुरुङ, बंकर, गुफाहरुलाई  ध्वस्त पार्नका लागि हुन्छ । यो बमले शहरी क्षेत्रमा धेरै विनाश गर्न सक्छ । रुसमाथि २०१६ मा सिरियामा आफ्नो फादर अफ अल बम प्रयोग गरेको आरोप लगाइएको छ । रुसमाथि सिरिया मात्र होइन चेचेन्याविरुद्ध पनि यो बमको प्रयोग गरेको आरोप लागिसकेको छ । युक्रेनविरुद्ध युद्ध जित्नको लागि पनि रुसले यो बमको प्रयोग गर्न सक्ने आशंका गरिएको छ ।

अमेरिकासँग संसारकै दोस्रो सबैभन्दा घातक गैर परमाणु बम छ जसलाई ‘मदर अफ अल बम’ वा म्यासिभ अर्डिनेन्स एयर ब्लास्ट बम (एमओएबी) भनिन्छ । अमेरिकाले यो बमको पहिलो परीक्षण २००३ मा फ्लोरिडामा गरेको थियो । यसलाई आधिकारिक रुपमा जीबीयु ४३ भनिन्छ । मदर अफ अल बमको तौल २१ हजार ६ सय पाउण्ड अर्थात करिब १० हजार किलो छ । यसले ११ टन बराबरको विस्फोट गर्न सक्छ र १५० देखि ३ सय मिटर दुरीसम्मका कुरालाई खरानी बनाउन सक्छ ।

अमेरिकाले २०१७ मा अफगानिस्तानको नांगरहारमा आइएसआइएसको अड्डामा मदर अफ अल बमको प्रयोग गरेको थियो । यसबाट त्यहाँ कति मानिस मारिए भन्ने अमेरिकाले कहिल्यै बताएन । २००२ मा पनि अमेरिकाले ओसामा बिन लादेनलाई मार्ने प्रयासमा अफगानिस्तानको तोराबोरा पहाडमा लगभग यत्तिकै शक्तिशाली बमको प्रयोग गरेको थियो । चीनले अमेरिकाको मदर अफ अल बमको जवाफमा २०१९ मा शियान एच–६के नामक घातक बम विकसित गरेको थियो । चीनले यो बमले कुनै पनि बिल्डिङ वा सैन्य प्रतिष्ठानलाई ध्वस्त पार्न सक्ने बताएको थियो ।