मोरङ  / मोरङको लेटाङ –८ ज्यामिरे टोलकी १२ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने  प्रहरीले खुलाएको छैन।

जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत करुणा राई विद्यालयबाट घर फर्किने क्रममा बुधबार दिउँसो ४ बजेदेखि बेपत्ता भएकी थिइन्।

OM Sai Pathibhara Hospital

बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई सूचना दिएका थिए। 

प्रहरीले खोजी गर्ने क्रममा आज (शुक्रबार) बिहान लालहिरा सामुदायिक बनभित्र गाडेको अवस्थामा बालिकाको शव फेला पारेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मञ्जील मुकारुङले जानकारी दिए। 

‘११ गते बेलुकादेखि हराएको बालिकाको शव गाडिएको अवस्थामा फेला पर्‍यो,’ उनले भने,‘ हामीले दुई जना पक्राउ गरेर अनुसन्धान थालेका छौँ।’

अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाहरूको नाम सार्वजनिक नगरेको उनले बताए। शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।