एजेन्सी/ रुस र युक्रेनबीचको तनावका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ । मंगलबार कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको छ । 

कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको छ । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने मुलुक हो ।

OM Sai Pathibhara Hospital

युक्रेन र रुसबीच जारी संकटको दूरगामी असर पर्ने विज्ञहरू बताउँछन् । रुसमाथि कुनै पनि प्रतिबन्धले विश्वमा कच्चा तेल र प्राकृतिक ग्यासको आपूर्तिमा कमी आउने र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने जानकारहरूले चेतावनी दिएका छन् । रुसले युक्रेनी पृथकतावादीहरूको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई मान्यता दिँदै आफ्नो सेनालाई ती क्षेत्रमा पठाएको छ । रुसको यो निर्णयपछि बेलायत र अन्य धेरै पश्चिमी देशले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यका रुपमा मान्यता दिएका छन् । स्वघोषित जनवादी गणतन्त्र डोनेस्क र लुहान्स्क रुसी समर्थित विद्रोहीहरुको बाक्लो उपस्थिति छ ।