झापा(एजेन्सी) अवैध रुपमा टर्कीदेखि ग्रिस प्रवेश गर्न खोजेका १९ आप्रवासीहरूको गत साता चिसोको कारण मृत्यु भएको छ भने एक नेपाली बेपत्ता भएका छन् ।

उनीहरूको टर्की र ग्रिसको सीमा नजिकै चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

OM Sai Pathibhara Hospital

हालसम्म १९ जनाको शव भेटिएको टर्कीका अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूका अनुसार ग्रिसको सीमा बलले आप्रवासीहरूलाई टर्कीतर्फ फर्काउँदै अलपत्र छोडिदिँदा उक्त घटना घटेको हो । 

तर, ग्रिसका अधिकारीले यसको खण्डन गर्दै आफ्ना कारणले कसैको पनि मृत्यु नगएको बताएका छन्। 

त्यस्तै कञ्चनपुर मूल घर भएका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन छन्। गत सातादेखि सम्पर्कविहीन रहेको एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङले बताए। घिसिङका अनुसार ग्रिस–टर्की सिमानाबाट केही नेपालीहरू कष्टकर यात्रा गर्दै स्तानबुल आइपुगेका छन्। 

घिसिङका अनुसार ४१ जना आप्रवासीहरूको समूहलाई ग्रिसको प्रहरीले समातेर टर्कीको सिमानामै फर्काइदिएका मध्ये आठ जना नेपालीहरू रहेका थिए । आठ जना मध्ये सात जना फर्किसकेका छन भने अवस्थी सम्पर्क विहीन छन्। 

अवैधरुपमा ग्रिस प्रवेश गरेका चारजना नेपालीको मङ्सिरको पहिलो साता गाडी दुर्घटनामा परी मृत्यु भएको थियो। दुई साताअघि मात्रै उनीहरूको शव नेपाल पुगेको थियो।