कर्णाली / कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरूको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेका हुन् ।

OM Sai Pathibhara Hospital

मुख्यमन्त्री शाहीले हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको गाग्रा पाटन पठाउन थालेको जानकारी दिए । 

हिउँ पाँच फिट जति परेको सूचना प्राप्त भएको छ, त्यहाँ हेलिकोप्टर बस्न सक्ने अवस्था छैन, मुख्यमन्त्री शाहीले भने, भोकबाट बचाउन तत्काल उनीहरूका लागि खानेकुरा खसाल्ने तयारी छ ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले त्यहाँको स्थिति थाहा पाउनका लागि तातोपानी गाउँपालिका –८, जुम्ला टोप्ला गाउँका स्थानीय सुरत बहादुर शाही सहित चिउरा, दालमोठ, चाउचाउजस्ता खानेकुरा लिएर जाने तयारी भइरहेको बताए । 

स्थानीयवासी शाहीका अनुसार तातोपानी गाउँपालिका –८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओढार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेका छन् । 

उनीहरू सेतक चिनी (खिरौंला) संकलन गर्न त्यहाँ गएका हुन् । शाहीका अनुसार उनकी बुहारी जैकुवाँरा शाही र तातोपानी –७ बाह्रगाउँका मुनबहादुर रावतको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिको उद्धारको तयारी भइरहेको बताए । 

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले हिउँमा फसेका व्यक्तिका लागि तत्काल खाद्यान्न र चिसोबाट बचाउने सामाग्री जोहो गरिएको तर हेलिकोप्टर बिना खाद्य सामग्री त्यहाँ पुर्‍याउन असम्भव भएको बताए ।