एजेन्सी  / युक्रेनलाई लिएर रुससँग तनाव उत्कर्षमा पुगेको बेला अमेरिकाले युरोपमा थप सैनिक पठाउने तयारी गरेको छ । राष्ट्रपति जो बाइडेनको निर्देशनमा यसै साता थप दुई हजार सैनिक युरोप पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने आशंका गर्दै अमेरिकाले युरोपमा आफ्नो सैनिक संख्या बढाउन लागेको हो । उत्तरी क्यालिफोर्नियाको फोर्ट ब्रागमा रहेका करिब दुई हजार सैनिक पोल्याण्ड र जर्मनीमा तैनाथ गरिने छन् । त्यस्तै, हाल जर्मनीमा रहेका एक हजार अमेरिकी सैनिकलाई रुमानिया पठाइने छ ।

OM Sai Pathibhara Hospital

थप ८ हजार सैनिकलाई पनि युरोप पठाउन तयारी अवस्थामा राखिएको पनि पेन्टागनले जनाएको छ । रुसका एक लाख भन्दा बढी सेनाले युक्रेनलाई तीन तिरबाट घेरा हालेर बसेका छन् । युक्रेनको सीमानामा रुसी सैनिकको यो तैनाथीलाई नेटो गठबन्धनले युक्रेनमाथि आक्रमणको तयारीको रुपमा ब्याख्या गरेका छन भने रुसले आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

युरोपमा नेटोको विस्तार रोक्ने उद्देश्य रुसको रहेको बताइएको छ । युरोपमा तैनाथ हुने अमेरिकी सैनिक युक्रेनमा युद्ध भई हाले पनि युद्धमा सहभागी नहुने तर गठबन्धनको रक्षाका लागि काम गर्ने अमेरिकी तर्क रहेको छ ।