बिर्तामोड / इलामको रोङ गाउँपालिकामा भएको पिकअप दुर्घटनामा मृत्यु भएका व्यक्तिको साथबाट रकम र गहना हराएको विषयमा प्रहरीले छानविन थालेको छ ।

दुर्घटनामा मृत्यु  हुनेका आफन्तले प्रहरी कार्यालयमा लिखित रुपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयले सो विषयमा छानविन गर्न डीएसपी गंगा बहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको हो ।

OM Sai Pathibhara Hospital

गत माघ १३ गते बिहान मेची राजमार्गको रोङ–४, को पहिरो भन्ने ठाउँमा दुर्घटनामा परेको  ००१ च ७९१६ नम्बरको पिकअपमा सवार एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा मेचीनगर–४ का ५५ वर्षे रोशन थापा र उनकै भाइ ४० वर्षे सूर्य थापा  रहेका थिए । दुर्घटनामा घाईते बनेका चालक झापा मेचीनगर–४ का ३३ वर्षे अर्जुन कोइरालाको भने उपचार भइरहेको छ ।

थापाको परिवारका सदस्यले उनीहरूको साथमा रहेको नगद ४ लाख र सुन घटनास्थलबाटै हराएको दावी गर्दै प्रहरी कार्यालयमा उजूरी दिएपछि प्रहरीले आन्तरिक छानविन गर्न समिति बनाएको हो ।