बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना ९एमसीसी० को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन ।

प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसदमा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएको प्रचण्डको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार प्रचण्डकै भनाइमा समर्थन जनाउँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीको विषयमा सत्ता गठबन्धमा विवाद बढाउनुको सट्टा सहमतिको आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

OM Sai Pathibhara Hospital

सत्ता गठबन्धभित्र एमसीसीको विषयलाई लिएर गठित कार्यदलका सदस्यहरूले संशोधन गर्नुपर्ने विषयसहितको सुझाव प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरूलाई अवगत गराइसकेको भए तापनि सत्ता गठबन्धनबीच अझै एमसीसीको विषयमा साझा धारणा बन्न सकिरहेको छैन । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले एमसीसी तत्काल अगाडि बढाउने प्रस्ताव अगाडि सारिरहँदा सत्ता सहयात्री चारै दलले असहमति राख्दै आएका छन् ।

केही दिनयता प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनभित्रका शीर्ष नेताहरूसँग एमसीसी परियोजना अगाडि बढाउन संवाद गर्दै आएका छन । उनले एमसीसीको विषयलाई सधैं अल्झाएर राख्न नहुने भन्दै संसद्बाट अनुमोदन गरेर टुंगो लगाउनुपर्नेमा जोड दिँदै आएका छन । एमसीसी पारित गर्नका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल हुन सकिरहेको छैन । प्रधानमन्त्रीले अब बस्ने संसद् बैठकमा एमसीसीलाई टेबुल गर्ने तयारी अगाडि बढाएपछि शीर्ष नेताहरू छलफल जुटेका छन ।

सोमबारको छलफलमा शीर्ष नेताबीच एमसीसीका साथै विभिन्न देशमा राजदूत नियुक्ति र स्थानीय तह निर्वाचनबारे पनि कुराकानी भएको थियो । सत्ता गठबन्धनले संविधानसँग बाझिएको स्थानीय तहसम्बन्धी कानुन संशोधन गरेर मात्रै मिति घोषणा गर्ने निर्णय यसअघि नै गरिसकेको छ । तर, प्रधानमन्त्री देउवाले एमसीसी परियोजना अगाडि बढाउने प्रस्ताव अगाडि सारेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणाको प्रक्रिया अगाडि बढ्न सकिरहेको छैन ।