काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित बिजुलीको खरिदबिक्री सम्झौता (पीपीए) प्रतिस्पर्धाबाट गर्ने भएको छ । 

आइतबार सम्पन्न प्राधिकरण सञ्चालक समितिको बैठकले सौर्य ऊर्जाको पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

अबदेखि सौर्य आयोजनाबाट उत्पादित विद्युत्को पीपीए गर्दा आयोजनाको उत्पादन सम्मिश्रणको अवधारणाअनुसार राष्ट्रिय ग्रिडमा कुल जडित क्षमताको १० प्रतिशतको परिधिभित्र रहेर प्राधिकरणलाई आवश्यक भएको क्षेत्रमा ‘आधार दर’ तोकी सो दरमा नबढ्ने गरी प्रतिस्पर्धामार्फत पीपीएका लागि आह्वान गरिनेछ ।

ग्रिड कनेक्टेड वैकल्पिक विद्युत् ऊर्जा विकाससम्बन्धी कार्यविधि २०७४ मा उल्लेखित वैकल्पिक सौर्य र वायु ऊर्जाको विद्युत् खरिद दर प्रतियुनिट सात रुपियाँ ३० पैसा तोकिएको छ । उक्त दर अधिकतम तीन वर्षभित्र विद्युत् खरिद सम्झौता सम्पन्न हुने आयोजनाका लागि कायम हुने निर्णय भएको थियो ।

तीन वर्षका लागि तोकिएको उक्त दर हालसम्म पनि परिमार्जन हुन सकेको थिएन । हाल अन्तर्राष्ट्रिय बजारमा पछिल्लो विकसित प्रविधिका कारण सौर्य ऊर्जा आयोजनाबाट उत्पादन गरिने विद्युत्को मूल्य निरन्तर घट्दो क्रममा रहेको छ ।

विद्युत् महसुललाई सस्तो बनाउन, अन्तर्राष्ट्रिय प्रचलन, जनअपेक्षा, विद्युत् माग र आपूर्तिको सन्तुलन एवं प्रचलित ऐन कानुनको मर्मलाई ध्यानमा राखेर पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरिएको हो । 

प्राधिकरणले अहिलेसम्म २१ सौर्य आयोजनासँग ११० मेगावाटको पीपीए गरेको छ । यसमध्ये छ आयोजना निर्माण सम्पन्न भई २९ मेगावाट राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको छ ।