काठमाडौं। काठमाडौंमा अब अपराधी केवल प्रहरीको आँखाबाट होइन, कृत्रिम बुद्धिमत्ता (एआई) को निगरानीबाट पनि पक्राउ पर्न थालेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा एआई क्यामेराको सहयोगमा ५९ जना फरार तथा शंकास्पद व्यक्तिलाई पहिचान गरी पक्राउ गरिएको छ। प्रहरीका अनुसार प्रविधिमा आधारित निगरानी प्रणालीले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाएको छ।
यस्तै, जेनजी आन्दोलनका क्रममा लुटिएका १८५ वटा हतियार प्रहरीले बरामद गरेको छ। ती हतियार बरामद गर्ने अभियानमा संलग्न रहेको आरोपमा ५२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले अर्को महत्वपूर्ण उपलब्धिसमेत सार्वजनिक गरेको छ। गत एक वर्षमा कारागारबाट फरार भएका १७५ कैदी र ९४ जना थुनुवालाई पुनः नियन्त्रणमा लिइएको जानकारी दिइएको छ।
भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एसपी पवन भट्टराईले प्रविधिको प्रयोग, विशेष अपरेशन र फरार अभियुक्त खोजी अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने बताए।
प्रहरीको दाबी छ, प्रविधिमा आधारित निगरानी, फरार अपराधीको खोजी र अवैध हतियार नियन्त्रण अभियानलाई थप सशक्त बनाउँदै राजधानीको सुरक्षा व्यवस्था अझ मजबुत बनाइनेछ।






































