काठमाण्डौ / नेपालबाट पहिलोपटक ठूलो परिमाणमा प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने महत्वाकांक्षी योजनाले गति लिएको छ।
उद्योग विभागमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानीका तीन ठूला मासु प्रशोधन उद्योग दर्ता भएसँगै सरकारले लामो समयदेखि चर्चा हुँदै आएको मासु निर्यात योजनालाई व्यवहारमा उतार्ने तयारी थालेको हो। तीनवटै उद्योग सञ्चालनमा आए नेपालले वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने लक्ष्य राखिएको छ। यससँगै करिब ७ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने दाबी गरिएको छ। सबैभन्दा ठूलो परियोजना जियान फुड्स प्रालि हो।
चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीको लगानीमा सिन्धुलीको मरिण गाउँपालिकामा स्थापना हुने यो उद्योगमा २६ अर्ब ४० करोड रुपैयाँ लगानी हुनेछ। त्यसमध्ये अधिकांश रकम प्रत्यक्ष वैदेशिक लगानी रहनेछ भने बाँकी स्वदेशी लगानी हुनेछ। उद्योगले वार्षिक २ लाख ८० हजार टन प्रशोधित भैँसीको मासु तथा १ लाख ९० हजार टन सहउत्पादन उत्पादन गर्ने योजना अघि सारेको छ। छाला, भित्री अंग र अन्य सहउत्पादनसमेत निर्यातयोग्य बनाउने तयारी गरिएको छ।
यो परियोजनाबाट मात्रै ५ हजारभन्दा बढीले रोजगारी पाउने बताइएको छ । चिनियाँ कम्पनीले नेपाली साझेदार हिमालयन फुड इन्टरनेशनलसँग मिलेर परियोजना अघि बढाउने भएको छ। स्थनीय स्तरमा पशुपालन विस्तार, कच्चा पदार्थ संकलन र व्यवस्थापनको जिम्मेवारी नेपाली पक्षले सम्हाल्नेछ। यस्तै, मकवानपुरको बकैया गाउँपालिकामा मनास्लु मिट्स प्रालि तीन अर्ब रुपैयाँ लगानीमा स्थापना हुने भएको छ।
यस उद्योगले वार्षिक ४२ हजार टन प्रशोधित मासु उत्पादन गर्दै एक हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य राखेको छ। त्यसैगरी इन्टरनेसनल मिट प्रोसेसिङ एभरेष्ट प्रालि पनि मकवानपुरमै सञ्चालनमा आउने भएको छ। २५ करोड रुपैयाँ लगानीको यस उद्योगले प्रशोधित मासुसँगै छाला, बोनमिल तथा अन्य सहउत्पादन उत्पादन गर्नेछ। यसबाट थप ४४० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।
यी उद्योग सञ्चालनमा आएपछि नेपालमा व्यावसायिक भैँसी पालन, कोल्ड चेन, छाला उद्योग तथा मासुजन्य सहउत्पादनमा आधारित उद्योग विस्तार हुने विश्वास गरिएको छ। ग्रामीण क्षेत्रमा किसानका लागि पनि नयाँ बजार सिर्जना हुने अपेक्षा गरिएको छ। तर, यो योजना कार्यान्वयन भने सहज देखिँदैन। चीनले यसअघि नै नेपाललाई स्पष्ट सर्त राखिसकेको छ।
नेपालबाट निर्यात हुने भैँसी नेपालमै जन्मिएको, नेपालमै हुर्किएको र ३० महिनाभन्दा कम उमेरको हुनुपर्ने चिनियाँ भन्सार प्रशासनको अडान छ। भारतबाट ल्याइएका भैँसी नेपालमा प्रशोधन गरेर चीन पठाउने अभ्यासलाई बेइजिङले स्वीकार नगर्ने स्पष्ट गरिसकेको छ।
यही कारण विगतमा चर्चामा आएको मासु निर्यात योजना अलपत्र परेको थियो। अब भने सरकारले चिनियाँ मापदण्ड पूरा गर्दै निर्यातको ढोका खोल्न खोजेको छ। योजना सफल भए नेपालका लागि मासु उद्योग नयाँ निर्यात सम्भावना बन्न सक्छ।
तर आवश्यक पशुधन उत्पादन, गुणस्तर नियन्त्रण र चिनियाँ सर्तको कडाइसँगै यो महत्वाकांक्षी योजना व्यवहारमा कति सफल हुन्छ भन्ने परीक्षा भने अझै बाँकी छ।






































