झापा(एजेन्सी) घानाको यपिएट शहरमा भयङ्कर विस्फोट भएको छ । विस्फोटबाट कयौं भवन भत्किएका छन् ।
घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरूको संख्याबारे औपचारिक जानकारी दिएको छैन ।
सुनको खानीको रुपमा चिनिने शहरमा विस्फोट भएको हो । खानीका लागि आवश्यक विस्फोटक पदार्थ बोकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विस्फोट भएको बताइएको छ ।
स्थानीय मिडियाहरुले सार्वजनिक गरेको तस्वीर र भिडियोमा विस्फोट भएको स्थानमा धूलो र धूवाँको मुस्लो उडेको देखिन्छ । भग्नावशेषमा च्यापिएकाहरुले चिच्याउँदै सहायता मागेको पनि देखिन्छ ।
घानाका राष्ट्रपतिले ट्वीट गर्दै ‘अत्यन्तै दुःखद घटना’ भएको बताउँदै उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको जनाएका छन् ।