काठमाडौं / अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको हो ।

भूकम्पका कारण धेरै भौतिक संरचनाहरू भत्किएका छन् । तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो प्रान्त पहाडी क्षेत्र हो, जसलाई अफगानिस्तानको गरिब र अविकसित क्षेत्र मानिन्छ । 

OM Sai Pathibhara Hospital

भूकम्पबाट पाँच महिला र ४ बालबालिकासहित २६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आपतकालीन सञ्चालन केन्द्रका प्रमुख मुल्ला जनानले समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार त्यहाँका ७ सय भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । 

भूकम्प प्रभावित क्षेत्रमा भारी वर्षा पनि भएको छ । उद्धार जारी रहेकाले संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

भारतमा पनि भूकम्प

यसैबीच मंगलबार बिहानै भारतको अरुणाचल प्रदेशमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान साढे चार बजे ४.९ म्याग्निच्युटको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको पूर्वोत्तर क्षेत्रमा सोमबार राति पनि ३० मिनेटको अन्तरालमा दुई पटक साना भूकम्पको धक्का महसुस गरिएको थियो ।