चितवन / समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन्।

यी तीन हात्तीले धेरै जिउधनको क्षति गरिसकेका छन्। मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन्।

OM Sai Pathibhara Hospital

हात्तीका विषयमा विद्यावारिधि गरिरहेका अशोक राम पुस–माघजेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउँछन्। मात्तिएकै बेलामा हात्तीले धेरै जिउधनको क्षति गराउने गरेका छन्।

उनको भनाइमा रोनाल्डोले २२, धुव्रेले १९ र गोविन्देले तीन जनाको ज्यान लिइसकेका छन्। ती तीनवटै हात्ती यतिबेला चितवन राष्ट्रिय निकुञ्जको सौराहा र कसरा आसपासको क्षेत्रमा छन्।

गत एक महिनायता गोविन्देध्रुवेले एक/एक जनाको ज्यान लिइसकेका छन्। यो मौसममा ती हात्तीले जनधनको क्षति बनाउन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूको सुझाव छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ध्रुवे यतिबेला टाइगरटप्स क्षेत्रको रिउ र राप्तीको सङ्गमस्थलतिर छ। गोविन्दे र रोनाल्डो पनि सौराहा र कसरा आसपासमा समय/समयमा देखिने गरेका छन्।

तिवारीको भनाइमा ध्रुवेलाई रेडियो कलर जडान गरेकाले यकिन ठाउँ थाहा हुन्छ भने रोल्नाडोलाई रेडियो कलर जडान गरिएको भए पनि अहिले नरहेका कारण यकिन ठाउँ थाहा हुन सक्दैन। तर समय–समयमा यी तीनै हात्ती देखिने गरेको तिवारी बताउँछन्।

निकुञ्जले पालेका हात्ती प्रजननमा यी हात्ती प्रयोग हुँदै आएका छन्। पछिल्ला वर्षहरूमा अधिकांश छावा यिनै तीन मत्ता हात्तीबाट जन्मिएका छन्। यो मौसममा कुहिरो लाग्ने भएकाले निकुञ्ज आसपास क्षेत्रमा हिँड्डुल गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ।

‘यो हात्तीको आक्रमण हुनसक्ने समय भएकाले जोगिएर हिँड्डुल गर्नुपर्दछ,’ उनले भने। निकुञ्ज बाहिर खानाका लागि हात्ती आउन सक्ने समय पनि यो हो।

चितवनमा अहिले भइरहेका ती हात्तीमध्ये ध्रुवे रौतहटसम्म पुग्ने गर्दछ भने गोविन्दे र रोनाल्डो चितवन र पर्सा क्षेत्रमा घुम्ने गरेका छन्। ध्रुवे र रोनाल्डो नेपालको पूर्वी क्षेत्रबाट आएको अनुमान गरिएको छ।