झापा / स्याङ्जाको  वालिङ नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाएकाको परिवारलाई नगद २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

पालिकाले काजकिरिया खर्चका लागि केही राहत दिने उद्देश्यले सो रकम उपलब्ध गराइएको नगर प्रमुख दिलीपप्रताप खाँणले जनाए । कोरोना कारण परिवारका सदस्य गुमाएका व्यक्तिका आश्रित परिवारलाई नगरपालिकाले रकम दिएको हो ।

OM Sai Pathibhara Hospital

नगरपालिकाले बनाएको विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ अनुसार राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए । उनका अनुसार, अहिलेसम्म ४९ जनाले राहत नगद लगेका छन् ।

अब प्रक्रियामा ६० भन्दा बढी छन् ।  पालिकाले अहिलेसम्म १२ लाख २५ हजार रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराएको जनाएको छ ।

राहत रकम प्राप्तिका लागि कोभिड १९ का कारण मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्यु दर्ताको प्रमाण तथा सिफारिससहित नगरपालिका कार्यालयमा निवेदन दिएपछि रकम उपलब्ध गराइने पालिकाले जनाएको छ ।