काठमाडौं । नेपाल सरकारले पश्चिम एसियामा जारी द्वन्द्वबारे आफ्नो पुरानै धारणा दोहोर्याउँदै वार्ता र कूटनीतिक माध्यमबाट स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले शान्ति सम्झौताको पूर्ण कार्यान्वयन हुन नसक्दा द्वन्द्व चर्किएको उल्लेख गर्दै त्यसको प्रभाव विश्वव्यापी रूपमा परेको र नेपाल पनि त्यसबाट अछुतो नरहेको बताए। उनका अनुसार द्वन्द्वले नेपालको अर्थतन्त्रमा समेत असर पारेको छ।
नेपाल सरकारले होर्मुज जलमार्ग सञ्चालनमा ल्याउन भइरहेका अन्तर्राष्ट्रिय प्रयासलाई समर्थन गरेको पनि उनले जानकारी दिए। द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिक हाल सुरक्षित रहेको उल्लेख गर्दै कुनै समस्या परे सम्बन्धित नेपाली नियोग वा ‘मोफा मित्र’ एपमार्फत सम्पर्क गर्न आग्रह गरिएको छ।
पत्रकार सम्मेलनमा दक्षिणपूर्वी एसियाका विभिन्न देशका अनलाइन स्क्याम सेन्टरबाट नेपालीहरूको उद्धारबारे पनि जानकारी दिइयो। मन्त्रालयका अनुसार थाइल्यान्ड, कम्बोडिया, लाओस र म्यानमारलगायत देशका सीमा क्षेत्रमा सञ्चालित स्क्याम सेन्टरबाट हालसम्म ८६० जना नेपालीको उद्धार गरिएको छ। त्यस्तै, कम्बोडियाको जेलमा रहेका ४९ जना नेपालीको रिहाइका लागि सम्बन्धित नेपाली दूतावासमार्फत पहल भइरहेको मन्त्रालयले जनाएको छ।
प्रवक्ता क्षेत्रीले स्क्याम सेन्टरमा काम गर्न नेपाली पठाउने कार्य गैरकानुनी भएको भन्दै त्यसमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिने बताए। उद्धारका नाममा कसैले रकम संकलन गरिरहेको भए सम्बन्धित निकायमा जानकारी गराउन पनि उनले आग्रह गरे। यसैबीच, भारतको कोलकातादेखि विराटनगरसम्म साउन १ गतेदेखि सञ्चालनमा आएको कार्गो रेल सेवाले नेपालको व्यापार र व्यवसायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा मन्त्रालयले व्यक्त गरेको छ। पत्रकार सम्मेलनमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको हालै सम्पन्न कतार भ्रमणबारे पनि जानकारी गराइएको थियो।






































