काठमाडौँ / कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार भारतसँग जीटुजी सरकारको माध्यमबाट रासायनिक मल खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 

आगामी हप्ता दुई देशबीच हस्ताक्षर हुने तयारी भइरहेको बताइएको छ । सबै तयारी पूरा भइसकेको र भारतीय पक्षबाट सम्झौताको प्रति आउनेबित्तिकै घोषणा गरिने कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माले जानकारी दिएका छन । अहिले कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावाससँग छलफल चलिरहेको उनले बताए ।

OM Sai Pathibhara Hospital

भारतीय दूतावासले दिल्लीबाट पत्र आउन बाँकी रहेको जानकारी दिएको छ । कार्यक्रम भर्चुअल गरिए पनि सम्झौतापत्र आदानप्रदान कार्यक्रम भौतिक रूपमा हुने दुतावासले जनाएको छ ।

नेपालले भारतसँग पाँच वर्षसम्म मल खरिद गर्ने भनी सम्झौता गर्न लागेको हो । सुरुको वर्षमा एक लाख ५० हजार मेट्रिक टन मल खरिद गरिन्छ । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशत वृद्धि गर्दै जाने सम्झौता हुन लागेको कृषि मन्त्रालयले जनाएको छ ।