काठमाडौँ / सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा नेताहरुको उपचार खर्च र आर्थिक सहायताको नाममा तीन करोड रुपैयाँ बाँडेको छ । 

आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनालदेखि लिएर पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च र आर्थिक सहायताका नाममा राज्यकोषबाट उक्त रकम खर्च गरेको हो । 

OM Sai Pathibhara Hospital

आर्थिक वर्षमा राज्यबाट आर्थिक सहयोग लिने उच्चपदस्थहरुमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सबैभन्दा बढी रकम लिएका छन् । उनले उपचार खर्चका नाममा सरकारबाट ४८ लाख ५० हजार लिएको अर्थमन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार उपचार खर्चका नाममा सरकारले रघुजी पन्तसहित तीन जनालाई २७ लाख, प्रदीप नेपालसहित तीन जनालाई ३२ लाख र पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिइएको छ । 

त्यस्तै सरकारले रुकुम छायानाथ रारा नगरपालिका –१० का राजबहादुर शाही र गुठीचौर –३ का पदमबहादुर बुढाको परिवारलाई ७ लाख, विराटनगरका जीवन कुमार राईलाई तीन लाख, काठमाडौं –१५ का प्रदिप नेपाल र मैया भुजेललाई १४ लाख आर्थिक सहयोग गरेको छ । 

कलाकार जेवी टुहुरेको औषधीउपचार वापत छोरी निर्भिका टुहुरेलाई ८ लाख ३० हजार राज्यकोषबाट भुक्तानी भएको छ । बागमती प्रदेशका सांसद यादवचन्द्र शर्माको उपचार र कुरुवा खर्च वापत एक लाख २९ हजार ६२५ रुपैयाँ सहयोग गरिएको छ । 

गुरुमा धम्मासतिको उपचार गर्न ४६ हजार ८२३, खरिदार रिना लामालाई आर्थिक सहायता ४५ हजार, रामबहादुर साउँदसमेत १२ जनालाई ५९ लाख ९ हजार १०५, मोतिपुर घटनाका २४ जना घाइतेको उपचारका लागि ११ लाख ३० हजार ४४४, कुमार खड्कासमेत तीनजनालाई १४ लाख, घन कटुवालसमेत दुई जनालाई १० लाख, ज्ञानबहादुर रोकायासमेत २ जनालाई ८ लाख र नानीबाबु खड्कालाई ५ लाख आर्थिक सहयोगका लागि रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

मोतिपुर घटनाका मृतक वीरेन्द्र प्रसाद कुर्मी, रमेश परियार, युजल कुमाल र केश नारायण केवटका परिवारलाई किरिया खर्च र क्षतिपूर्ति स्वरुप २२ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ । 

मन्त्रिपरिषद्को निर्णय अनुसार उक्त आर्थिक सहयोग भुक्तानीका लागि अर्थ मन्त्रालयले गृह लगायतका विभिन्न मन्त्रालय र स्थानिय तहलाई समेत रकमान्तर गरेर भुक्तानी दिएको हो ।