बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट)  नेकपा (माओवादी केन्द्र) को कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको छ । कार्यालयका अधिकांश कर्मचारीलाई कोरोना भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भेटघाट बन्द गरेर घरमै आइसोलेसनमा बसेका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बिहीबारबाटै प्रचण्डले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेको बताए । राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयता भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई पनि स्थगित गरिएको सचिवालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामार्फत व्यवस्थित गर्न कोसिस भइरहेको जानकारी दिँदै स्वकीय सचिव मल्लले भने– ‘कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गर्नेछौं ।’ केन्द्रीय कार्यालयका कतिपय नेतालाई समेत कोभिड संक्रमण पुष्टि भएकाले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरिएको सचिवालयले बताएको छ ।

कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको छ । मुख्यसचिव ढकालले केन्द्रीय कार्यालयका अधिकांश साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको  छ ।