झापा / पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छ ।

स्थानीयवासी रमानन्द चौधरीले सदा परिवार बसिरहेको जग्गा खाली गर्न भनेपछि उनीहरूलाई समस्या भएको हो ।

OM Sai Pathibhara Hospital

‘वर्षौँदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौं’, सदाले भने, ‘अहिले आएर चौधरीले यो जग्गा मेरो हो भन्दै जग्गा खाली गर्न भन्नुभयो, पछि त अदालतमा पनि मुद्दा हाल्नुभयो, अहिले  कहाँ जाने भन्ने समस्या परेको छ ।’ 

यहाँबाट विस्थापित नै हुन्छ कि भन्ने चिन्तामा डुबेको उनको दुखेसो छ । 

‘आफूहरूसँग नम्बरी जग्गा छैन, त्यसैले पोखरीको डिलमा फुसको छाप्रो बनाई बस्दै आएका छौं’, उनले भने, ‘अहिले  भोक र निद्रा नै हराएको छ ।’


उनका अनुसार सदा समुदायले धेरै पहिलादेखि सोही जग्गामा घर बनाएर बस्दै आएका थिए ।

‘बुवा पनि सोही जग्गालाई आफ्नो बासस्थान बनाउनुभयो’, ६० वर्षीय सदाले भने, ‘हामी पनि यही जग्गामा थाकथलो बनाएर बसिरहेका छौं, तर अहिले अचानक आएर चौधरीले जग्गा दाबी गर्दै मुद्दा हालेपछि परिवार नै उठिबासमा पर्ने चिन्तामा छौं ।’

पछिल्लो समय केही दिनयता चौधरीले बस्तीमै आएर जग्गा खाली गर्न धम्कीसमेत दिन थालेपछि थप तनावमा परेको सदाको गुनासो छ । 

‘कहिलेदेखि हजुरबुबा यो जग्गामा बस्नुभयो भने नै हामीलाई नै थाहा छैन’, डाक्नेश्वरी नगरपालिका –५ का ४५ वर्षीय रामेश्वर सदाले भने, ‘जग्गा खाली गराउने भन्दै चौधरी अदालत गुहारेपछि चिन्ताले निद्रा लाग्न छाडिसक्यो, जग्गा छोड्नु परे कहाँ जाने र के खाने भन्ने रु समस्यामा परेका छौं ।’

‘पुस्तौँदेखि यही बस्यौँ, यही मजदुरी गर्‍यौँ, कहिले पनि कसैले यो जग्गा मेरो हो भनेनन्, उनले भने, ‘अहिले अचानक चौधरीले जग्गा खालीका लागि धम्की आउन थालेपछि लालाबालासहित कहाँ जाने भन्ने चिन्तामा डुबेका छौं ।’

विस्थापित हुनबाट जोगाइदिन सबैसँग उनले अपिलसमेत गरेका छन् ।

स्थानीय रमानन्द चौधरीले जग्गा दाबी गर्दै पोखरीको डिल खाली गराउन अदालत पुगेपछि रामदेव र रामेश्वर सदा मात्र होइन, आर्थिकरूपमा विपन्न मुसहर समुदायसँग आफ्नो जग्गा नहुँदा गाउँ नजिकैको पोखरी डिलमा पुस्तौँदेखि बस्दै आएका २५ घर मुसहर समुदाय उठिबासको जोखिममा छन् । 

स्थानीय चौधरीले पोखरी डिल आफ्नो निजी जग्गा भएको र सदाले जग्गा हडपेर जबर्जस्ती घर बनाई बसेको भन्दै जग्गा खाली गराउन २०७८ मंसिर २० गते सप्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । 

चौधरीले मुद्दा दिएको अदालतबाट पत्र आएपछि बल्ल थाहा पाएको सुनाउँदै स्थानीय मुसहर समुदायले पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने अडानमा छन् । 

‘पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने आफूहरू पनि अडानमा छौं’, ३७ वर्षीय ओपेन्द्र सदाले भने, ‘त्यसैले हामी पनि अदालतमा प्रतिउत्तर जोड्ने तयारीमा छौं, अन्तिमसम्म हामी पनि लड्छौं। यसमा सबैको सहयोग चाहियो,’ उनको आग्रह थियो ।

यसअघि सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहाका दलित समुदायलाई जग्गा खाली गराउन स्थानीय देवीलाल साहले अदालतमा मुद्दा दायर गरेका थिए। सो मुद्दामा अदालतले यथास्थितिमै राख्न आदेश दिएपछि दलित समुदाय उठीबास हुनबाट जोगिएको थियो । 

यसरी आर्थिक विपन्नता र सामाजिक विभेदमा परेका दलित समुदायलाई आवश्यक परामर्श तथा सहयोगका लागि श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले अभियान सुरू गरेको छ ।