बिर्तामोड ( राजधानी दैनिकबाट) पछिल्ला पाँच महिनामा जघन्य प्रकारका अपराधमा कमी आएको नेपाल प्रहरीको एक तथ्यांकले देखाएको छ । बैंकिङ कसुर र चोरीका घटनामा उल्लेख्य वृद्धि हुँदा जघन्य प्रकृतिका अपराधमा भने कमी आएको प्रहरी तथ्यांकले देखाएको हो ।

प्रहरी प्रधान कार्यालयले तयार गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को पाँच महिना अर्थात् गत साउनदेखि मंसिर महिनासम्मको पाँचमहिने अवधिमा बैंकिङ कसुरसम्बन्धी घटनामा १ सय ५ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

OM Sai Pathibhara Hospital

यसैगरी, सोही अवधिमा चोरीका घटनामासमेत ३५ दशमलव ४ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । सो तथ्यांक प्रहरीले अघिल्लो आर्थिक वर्षको सोही अवधिलाई आधार मान्दै तयार गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरले अघिल्लो वर्ष कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण मानिसहरू घरमै बसेकाले चोरीका घटनामा कमी भएको देखिएको तर अहिले सो संख्यामा केही बढेको तथ्यांकले देखाएको बताए ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷७८ को सुरुको पाँचमहिने अवधिमा ८ सय ८० बैंकिङ कसुरका घटना भएको देखिएको छ । तर, चालू आर्थिक वर्षको सो अवधिमा नै १८ सय ७ बैंकिङ कसुरका घटना भएको पाइएको तथ्यांक देखाउँछ । यो भनेको १ सय ५ प्रतिशत बढी हो ।

यसैगरी, आर्थिक वर्ष २०७७÷७८ को सुरुको पाँचमहिने अवधिमा चोरीका विभिन्न ९ सय १६ घटना भएको देखिएको छ । तर, चालू आर्थिक वर्षको सो अवधिमा नै चोरीका १२ सय ३७ घटना भएको तथ्यांकले देखाएको हो । अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षको पाँचमहिने अवधिलाई तुलना गर्दा यो ३५ दशमलव ४ प्रतिशतले बढी हो ।

यसैगरी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, हातहतियार खरखजाना, जबरजस्तीकरणी, जबरजस्तीकरणी उद्योगलगायतका जघन्य किसिमका अपराधका शीर्षकमा भने कमी आएको तथ्यांक देखाएको छ ।