झापा  / झापाको मेचीनगर नगरपालिका र नगर विकास कोषबीच मेचीनगर कृषि मण्डी आयोजनाका लागि ऋण सम्झौता भएको छ । 

मेचीनगर नगरपालिका –१० मा ९० रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको मेचीनगर कृषि मण्डी आयोजनाका लागि नगरपालिका र नगर विकासबीच सम्झौता भएको हो ।  ।

OM Sai Pathibhara Hospital

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यबीच नौ करोड ६५ लाख २३ हजारको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । 

मेचीनगर कृषि मण्डी आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु १२ करोड ८६ लाख ९८ हजारको ७५ प्रतिशत ऋण रकम कोषको तर्फबाट र २५ प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने बताइएको छ । 

उक्त सम्झौता कार्यक्रममा नगरप्रमुख आचार्यले बृहत् नमुना कृषि पूर्वाधार आयोजनाको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै आयोजना गुणस्तरीय र समयमा सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरे । 

आधुनिक कृषि पूर्वाधारको विकास तथा विस्तार गराउने उद्देश्यका कृषि मण्डीको निर्माण गर्न लागेको आचार्यले बताए । 

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले नगरपालिकामा निर्माण हुने आयोजनाबाट मेचीनगर नगरपालिका एक व्यवस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रको रुपमा सबल हुने र स्थानीय उत्पादनको बजारीकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।