काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले संविधान संशोधनको नाममा भइरहेका राजनीतिक गतिविधिले नेपाललाई गम्भीर भूराजनीतिक संकटतर्फ धकेल्ने खतरा बढाएको बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै ज्ञवालीले संविधानका आधारभूत प्रावधानमै हस्तक्षेप गर्ने प्रयास भइरहेको दाबी गरे। उनका अनुसार यस्ता कदमले लामो संघर्षपछि प्राप्त भएका उपलब्धिहरू नै संकटमा पर्न सक्ने अवस्था सिर्जना गरेको छ।
ज्ञवालीले प्रतिनिधिसभाको अंकगणित मात्रै हेरेर संविधान संशोधन अघि बढाउन खोजिएको आरोप लगाउँदै राष्ट्रिय सभा र जनताको सचेत भूमिकाबिना प्रतिगामी कदम रोक्न कठिन हुने चेतावनी दिए।
उनले पछिल्ला केही घटनाक्रम-पश्चिमी मुलुकसँग बढ्दो सक्रियता, ‘फ्रि तिब्बत’ सम्बन्धी गतिविधि तथा प्रधानमन्त्रीले संसदमा दिएको भारतसँग जोडिएको विवादास्पद अभिव्यक्ति-लाई नेपालको भूराजनीतिक संवेदनशीलता बढाउने संकेतका रूपमा व्याख्या गरे। यस्ता विषयले नेपाललाई अनावश्यक अन्तर्राष्ट्रिय दबाबमा पार्न सक्ने उनको भनाइ थियो।
साथै, नागरिकका अधिकार क्रमशः कमजोर बन्दै गएको दाबी गर्दै ज्ञवालीले अहिलेको चुनौती कुनै एक दलको नभई समग्र राष्ट्रको भएको बताए। राष्ट्रिय हितका सवालमा कम्युनिस्ट शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले आवश्यक परे नेपाली कांग्रेससँग समेत संवाद र सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरे।






































