काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालको वर्तमान राजनीतिक जटिलताको जिम्मेवारीबाट वामपन्थी शक्तिहरू उम्कन नसक्ने बताएका छन्। जनताले दिएको विश्वासलाई सही ढंगले उपयोग गर्न नसक्दा देश आजको अवस्थासम्म आइपुगेको भन्दै उनले सबै वामपन्थी दलले आत्मालोचना गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्। शुक्रबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै सिंहले वामपन्थी दलहरूले आफ्नै कमजोरीको समीक्षा गर्दै कार्यशैली परिवर्तन गर्नुपर्ने बताए।

उनका अनुसार अहिलेको राजनीतिक अन्योल र अस्थिरताको दोष केवल अन्य शक्तिलाई दिएर उम्किन नमिल्ने अवस्था छ। जनताले दिएको भरोसालाई परिणाममा रूपान्तरण गर्न नसक्नु नै वाम आन्दोलनको ठूलो कमजोरी भएको उनको भनाइ थियो। भाषणका क्रममा सिंहले अमेरिकी साम्राज्यवादविरुद्धको संघर्षलाई नेपालीका लागि ूजीवन–मरणको प्रश्नू को संज्ञा दिँदै युद्धको विरोध र विश्व शान्तिको पक्षमा सबै प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्ने धारणा पनि राखे।

उनले वर्तमान परिस्थितिबाट पाठ सिक्दै वामपन्थी शक्तिहरूले जनअपेक्षाअनुसार व्यवहार सुधार्न सके मात्रै जनविश्वास पुनः प्राप्त गर्न सकिने बताए।