गाइघाट / सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । तीन वर्षदेखि अवरुद्ध हुँदै आएको सो आयोजनाको काम शनिबार सम्पन्न भएको हो । 

सो आयोजना निर्माणमा उदयपुरको कटारी नगरपालिका –४, मरुवा क्षेत्रका स्थानीयवासीले आफूहरूको घर र धान फल्ने खेत नै प्रभावित हुने भएकाले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पुर्‍याउँदै आएका थिए । 

OM Sai Pathibhara Hospital

पछिल्लो समय किसानको माग सम्बोधन गरेर सहमति जुटेपछि प्रसारण लाइनको टावर निर्माण र तार टाँग्ने काम सकिएसँगै आयोजनाको निर्माण कार्य सम्पन्न भएको आयोजनाका प्रमुख जनार्दन गौतमले बताए ।

सिराहा, उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बुसमेत चारवटा जिल्लाभित्र निर्माण भएको सो आयोजनाको सोलुखुम्बु जिल्लाको तिङ्लामा यसअघि नै विभिन्न सबस्टेसन निर्माण सम्पन्न भई चार्जसमेत भइसकेको हुँदा हाल सिरहाको लहानबाट विद्युत् लगेर त्यस क्षेत्रमा आपूर्ति गरिँदै आएकामा अब भने सोलु खोलामा उत्पादित विद्युत् नै स्थानीय खपतमा वितरण गरिने पनि आयोजना प्रमुख गौतमले बताए । 

आयोजनाको निर्माण खर्च करिब दुई अर्ब ५० करोड पुग्ने उनको भनाइ छ । विवादका कारण कोरिडोरको काम ढिलो हुँदै जाँदा आयोजनाको पटकपटक म्याद थपिँदै आएको थियो । 

सन् २०२० जुलाई १५ मा सक्ने सर्तमा तेस्रो पटक म्याद थप गरिएको भए पनि कोरोनाका कारण समस्या भएको भन्दै यस अगाडि छैटौँ पटकसम्म आगामी डिसेम्बर ३१ अर्थात् पुस १६ गतेसम्म निर्माण सक्नुपर्ने समयसीमा निर्धारण गरी म्याद थपिएको थियो ।

सो प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले सोलु कोरिडोरमा निर्माणाधीन करिब ३२५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ । २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रालिसँग प्राधिकरणले यो प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो ।