बैतडी/  जिल्ला निर्वाचन कार्यालय बैतडीले इलाका प्रशासन कार्यालय पुर्चौडीबाट पनि फोटोसहितको मतदाता नामावली संकलनको व्यवस्था गरेको छ। आगामी सबै तहका निर्वाचनलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालयबाट पनि नामावली संकलन थालिएको हो। 

निर्वाचन आयोगले इलाका प्रशासन कार्यालयबाट पनि नामावली संकलन गर्न दिएको निर्देशन अनुसार नै काम सुरू गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलले जानकारी दिए। यसै हप्ताबाट सुरू भएको नामावली सो कार्य पुस १९ गतेसम्म सञ्चालन हुनेछ। 

OM Sai Pathibhara Hospital

इलाका प्रशासनबाट नेपाली नागरिकता प्रमाणपत्र जारी हुने भएकोले नागरिकता पाउने बितिक्कै नामावलीमा नाम दर्ता गराउनको लागि उक्त व्यवस्था गरिएको हो।  हालसम्म ९८ जनाले आफ्नो नाम दर्ता गराइसकेका त्यहाँ खटिएका दर्ता कर्मचारी दीपेन्द्र धामीले जानकारी दिए।  

जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट भने नियमित रूपमा नामावली संकलन जारी छ।  बैतडीमा हालसम्म १ लाख ४८ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।