बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) सरकारले कोरोना बीमाको प्रिमियममा दिने भनेको अनुदान रकम पनि पूर्णरूपमा निकासा गरेको छैन । कोरोना बीमाको दाबीमा आफ्नो दायित्व बराबरको रकमसमेत उसले निकासा गरेको छैन ।

कोरोना बीमाको प्रिमियममा सरकारले अनुदान बापत २ करोड ११ लाख २७ हजार रुपैयाँ दिन बाँकी छ, जुन गत आवमा नै निकासी हुनुपर्ने हो । तर, त्यति सानो रकम पनि सरकारले भुक्तानी नदिएको बीमा कम्पनीहरू बताएका छन् । सरकारले दाबीका लागि दिनुपर्ने ११ अर्ब ८२ करोड रकम पनि निकासा नगर्दा बीमितहरूले अझै पनि दाबीको भुक्तानी पाएका छैनन् ।

OM Sai Pathibhara Hospital

‘सरकारले अनुदानबापत दिनुपर्ने सानो रकम पनि अझै निकासी गरेको छैन । जुन गत आवमा नै पाउनुपर्ने हो,’ एक कम्पनीका अधिकारीले भने, ‘यही अवस्था हो भने दाबीका लागि पाउनुपर्ने अर्बौ रकम निकासी गर्न थप झमेला बेहोर्नुपर्ने देखिन्छ ।’ यद्यपि, सरकारले यस बापत झण्डै ४२ करोड रुपैयाँ भने भुक्तानी गरिसकेको छ ।

गत आवको वार्षिक बजेटमा नै कोरोना बीमा गर्दा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको थियो । सोहीअनुसार बीमा कम्पनीहरूले आव २०७७/७८ को साउनदेखि ग्राहकबाट ५० प्रतिशतमात्र शुल्क लिएर कोरोना बीमा गरे । तर, सरकारले त्यसमा अनुदानमार्फत दिने भनेको सानो रकम पनि निकासा गर्न बाँकी रहेको छ ।

नेपाल बीमक संघका महासचिव चंकी क्षत्रीले कोरोना बीमामा अनुदानमार्पmत पाइने रकमसमेत पूर्णरूपमा नपाएको बताए । उनका अनुसार सरकारले अभैm २ करोड ११ लाख २७ हजार भुक्तानी गर्न बाँकी छ । यसमा बीमा समितिले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । साथै, कोरोना बीमाको दाबीबापत पाउनुपर्ने रकम पनि तत्काल निकासी हुनुपर्ने उनले बताए ।

अर्थ मन्त्रालयका प्रवक्ता रीतेश शाक्यले यस विषयमा छलफल भइरहेको बताए । आवश्यक प्रक्रिया पूरा गरेर उक्त रकम निकासी हुने उनको भनाइ छ ।

बीमा समितिले २०७७ वैशाखदेखि कोरोना बीमासम्बन्धी पालिसी लागू गरेको थियो । यसमा दायित्व बढी भएपछि २०७७ भदौमा यसको कारोबार स्थगित पनि गरिएको थियो । तर, पछि सरकारले साढे ३ अर्बभन्दा माथिको दायित्व लिने भएपछि यो बीमा कारोबार पुनः सुचारु गरिएको थियो । चालू आवदेखि भने यो बीमाको कारोबार बन्द नै गरिएको छ ।