हुम्ला / अन्तरजातीय विवाह गरेका हुम्लाका एक १८ वर्षीय युवक ६ दिनदेखि बेपत्ता भएका छन् ।

सर्केगाड गाउँपालिका –१, जैरका चन्द्र लुवार बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको कर्णाली प्रदेश प्रहरी प्रमुख गणेशबहादुर ऐरले बताए ।

OM Sai Pathibhara Hospital

उनका अनुसार २९ मंसिरबाट लुवार बेपत्ता भएका थिए । ‘हामीलाई खबर आएपछि सुरुमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो, तर नभेटिएपछि जिल्लाका डीएसपी हेरम्भ शर्मा आफैं खोजीमा गएका छन्’ ऐरले भने, ‘अहिलेसम्म उनको अत्तोपत्तो लागेको छैन ।’

उनका अनुसार चन्द्र हराएको भनिएको स्थान पुग्न सदरमुकामबाट दुई दिन पैदल यात्रा गर्नुपर्छ । सुर्केगाडका उपमेयर जोशी धामीका अनुसार मुगुको सोरु गाउँपालिका –४, लिब्रुकी एक जना १७ वर्षीय मल्ल थरकी युवतीसँग उनले एक–दुई महिनाअघि भागी विवाह गरेका थिए ।

‘उनी विहे गरेर जैरमा आएको थाहा पाएपछि केटी पक्षका व्यक्तिहरू २९ मंसिरमा घरमा आएका रहेछन्’ जोशीले भने, – ‘घरमा आएर कुटपिट गर्दै लगेको केटा पक्षको आरोप छ ।’

तर केटी पक्षले चाहिँ छोरीलाई मात्र लिएर गएको दाबी गरिरहेको छ । स्थानीय राजनीतिकर्मी कृष्ण बलमे जिल्ला फरकफरक भए पनि दुवैको घर वारिपारि पर्ने बताए ।