बिर्तामोड (राजधानी दैनिकबाट) नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएका सबै प्रक्रिया सकिएसँगै कांग्रेस राजनीतिभित्रको एउटा पाटो फेरि कोइराला परिवारमै फर्किएको छ । १३औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य बनेका नेता डा। शेखर कोइराला १४औं महाधिवेशनमा सभापतिको रेसमा दोस्रो स्थान प्राप्त गरेसँगै काङ्ग्रेसभित्रको संस्थापन इतर समूहको नेतृत्व उनको हातमा परेको हो ।

कांग्रेसको १२ औं महाधिवेशनसम्म नेतृत्वमा कोइराला परिवारकै हाली मुहाली थियो । त्यसबखत सुशील कोइराला सभापति बनेका थिए । कांग्रेसको १२औं महाधिवेशन १ देखि ५ गतेसम्म असोज २०६७ मा काठमाडौंमा भएको थियो । त्यसपछि १३औं महाधिवेशन भने कार्यवाहक सभापति बनेका रामचन्द्र पौडेलको नेतृत्वमा सम्पन्न भएको थियो ।

OM Sai Pathibhara Hospital

तर, सो बखत उनी सभापतिमा शेरबहादुर देउवासँग पराजित मात्रै बनेनन् कांग्रेसको संस्थापन समूहको जिम्मा देउवाको हातमा प¥यो । त्यसबखत सभापतिमा देउवा निर्वाचित बनेसँगै इतर समूहको नेतृत्व पौडेलको हातमा गयो भने कोइराला परिवारका नेताहरू पौडेलले नेतृत्व गरेको समूहभित्र परे । तर, मंगलबार १४औं महाधिवेशन सकिएलगत्तै १३औं महाधिवेशनबाट कोइराला परिवारबाट बाहिरिएको कांग्रेसको एउटा समूह फेरि कोइराला परिवारकै हातमा पुगेको छ ।

अर्थात् मतपरिणाममा कोइराला पहिलो नभए पनि कांग्रेसभित्रको संस्थापन इतर समूहको नेतृत्व कोइराला परिवारको हातमा परेको छ । त्यसअघि ११औं महाधिवेशनबाट भने गिरिजाप्रसाद कोइराला कांग्रेस सभापति बनेका थिए । अब नेता शेखर कोइरालालाई काङ्ग्रेसभित्रको इतर समूहलाई नेतृत्व दिएर अघि बढ्न चुनौतीसमेत थपिएको छ ।

१४औं महाधिवेशनमा उनीबाट अलग भएका आफ्नै समूहकी नेत्री सुजाता कोइरालालाई समेत उनले कसरी समेट्छन् आगामी दिनले देखाउनेछ भने १३औं महाधिवेशनमा महामन्त्री बनेका नेता शशाङ्क कोइरालाले शेखरलाई साथ देलान् वा नदेलान् सो विषय पनि आगामी दिनमा प्रस्ट हुनेछ ।