काठमाडौं  / वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२ जनाले श्रम स्वीकृति लिएका छन् ।

OM Sai Pathibhara Hospital

सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार गत साउनदेखि कात्तिकसम्मको तथ्याङ्क हेर्दा जिल्लाबाट वैदेशिक रोजगारीमा विभिन्न देश जानलाई १०७ महिला र एक हजार ६८५ पुरुषले श्रम स्वीकृति लिएका छन् । 

सरकारले गत साउन र भदौमा गरेको लकडाउनयता पनि रोजगारीका लागि विदेश जान अत्यधिक सङ्ख्यामा श्रम स्वीकृति लिएको पाइएको हो ।

दश स्थानीय तह रहेको खोटाङमा वैदेशिक रोजगारीको सिलसिलामा ६० हजारभन्दा बढी नागरिक विभिन्न देशमा पुगेका सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिए । 

मुलुकभरको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीको सिलसिलामा युवापुस्ता विदेश जाने जिल्लामध्ये खोटाङ १९ औँ स्थानमा रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरबीच आर्थिक वर्ष २०७७/७८ मात्रै जिल्लाका एक हजार ९२८ नागरिक वैदेशिक रोजगारीको सिलसिलामा बाहिरिएका छन् ।

कोरोना महामारीकैबीचमा पनि खोटाङका १०४ महिलासमेत वैदेशिक रोजगारीका लागि विदेशिएको राईले जानकारी दिए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश स्थानीय बासिन्दाको घरका युवाशक्ति वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेको पाइएको छ । 

पहाडी भूभाग रहेको जिल्लामा जीवन निर्वाहमुखी खेतीभन्दा अन्य आम्दानीको स्रोत नभएपछि रोजगारीको सिलसिलामा विदेशिनुपर्ने बाध्यता रहेको युवापुस्ताले बताउने गरेका छन् । वैदेशिक रोजगारीमा गएका परिवारको आर्थिक अवस्थासमेत सुदृढ हुँदै गएको सामी परियोजनाले जनाएको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने काम गरिरहेको सामीमा वैदैशिक रोजगारसँग सम्बन्धित नौँ उजुरी परेका छन् । खोजी तथा उद्धारमा पाँच, मृत्यु भएकाको शव झिकाइदिन एक, आर्थिक सहयोगका लागि दुई तथा मेनपावरले दुःख दिएकामा एउटा उजुरी परेको हो ।

विगत चार महिनाको अवधिमा वैदेशिक रोजगारसम्बन्धी जानकारी लिन दिक्तेलस्थित सूचना केन्द्रमा महिला १८२ र पुरुष ४६१ आएका आएका छन् । वैदेशिक रोजगारीमा गएका घरपरिवारका महिला सदस्यलाई सामीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान तथा सीप दिँदै आएको छ ।