बिर्तामोड (एजेन्सी) अमेरिकाको केन्टकी राज्यमा आएको आँधीका कारण ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

आँधीबाट मेफिल्ड शहरमा अवस्थित एक मैनबत्ती कारखानामा मात्रै १२ जना मजदुरको मृत्यु भएको बताइएको छ । उद्धारकर्मीहरूले कारखानाबाट १४० भन्दा बढी व्यक्तिहरूलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । 

केन्टकीका गर्भनर एण्डी बेशियरले अब कुनै भग्नावशेषबाट कसैलाई सुरक्षित रुपमा निकाल्न सकिएमा त्यो चमत्कार हुने बताएका छन् ।यद्यपि खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

केन्टकी राज्यलाई आपतकालीन स्थिति घोषणा गरिएको छ । यो आँधीलाई अमेरिकाको इतिहासकै ठूलो आँधी भनिएको छ । 

राष्ट्रपति जो बाइडनले अमेरिकाको मध्य इलाकामा भयंकर आँधी आएको भन्दै पीडितको उद्धार तथा राहतका लागि हरसम्भव कदम चाल्ने घोषणा गरेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । 

केन्टकीका साथै मिसौरी, आरकन्सास, इलिनोय, मिसिसिपी पनि आँधीबाट प्रभावित भएका छन् ।