बिर्तामोड ( आजको राजधानी दैनिकबाट) सत्तारूढ नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन सत्र सुरु भएसँगै विभिन्न पदका आकांक्षीले छुट्टाछुट्टै नारासहितका प्रचार सामग्रीसहित आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजेका छन् ।

विभिन्न पदका उम्मेदवारहरूको प्रचारशैली तथा नारा आ–आफ्नै किसिमका रहेका छन् । जसरी पनि नेतृत्वमा पुग्ने उनीहरूको चाहना र समर्थकको प्रचार गर्ने होडबाजी रहेको देखिन्छ ।

OM Sai Pathibhara Hospital

नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका नेताहरूले अन्तिम समयमा प्रचारलाई जोडतोडका साथ अघि बढाएका छन् । भृकुटीमण्डप आसपास क्षेत्र आकांक्षीका प्रचारप्रसार सामग्रीले भरिएको छ । सामाजिक सञ्जालमा समेत उनीहरूले प्रचारमा जोड दिएका छन् ।

कांग्रेसले नेतृत्व र नीतिको महाधिवेशन छुट्टाछुट्टै गर्ने भएका कारण नेतृत्वको दाबी गर्ने नेताले नारामार्फत आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १४औं महाधिवशेनको नारा ‘उत्साह, एकता र रूपान्तरण’ रहेको बताए । पार्टीले सार्वजनिक गरेको पोस्टरमा ‘उत्साह, एकता, रूपान्तरण सफल बनाऔं नेपाली कांग्रेसको १४औं महाधिवेशन’ नारा रहेको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः अध्यक्षमा दोहोरिन खोजेका छन् । संस्थापन समूहमै रहेका उपाध्यक्ष विमलेन्द्र निधिसमेत सभापतिको दौडमा रहेका छन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत संस्थापन इतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुन खोजेका छन् ।

देउवा, निधि, पौडेललगायतका उम्मेदवार समूहगत रूपमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । अध्यक्षका यी उम्मेदवारको समूहभित्र भने नेताहरूले विभिन्न पदमा दाबी गर्दै छुट्टाछुट्टै नारा तयार गरी प्रचारप्रसारमा जुटेका छन् ।

पार्टी सभापतिमा दोहोरिन खोजेका देउवाको नारा ‘बलियो कांग्रेस, समृद्ध देश सभापतिमा अब एकपटक शेरबहादुर देउवा नै वेश’ रहेको छ । गत आमचुनावमा नराम्रोसँग पराजित भएपछि देउवा नेतृत्वमा दल इतिहासमै सबैभन्दा कमजोर भएको भन्दै आलोचना हुँदै आएको छ ।

उनलाई चुनौती दिने तयारीमा रहेका रामचन्द्र पौडेलको नाममै गीत नै सार्वजनिक गरिएको छ । विमलराज क्षत्री र टीकाकुमारी क्षत्रीले ‘छैन नि जाल झेल, असल छवि, असल नेता रामचन्द्र पौडेल’ भन्दै गीत गाएका छन् । पौडेल र उनीनिकट रहेका नेताहरूले उनको छविलाई जोड दिएका छन् ।

सभापति दाबी गर्दै आएका अर्को नेता निधिले ‘हिमाल, पहाड र तराई मधेस, सबैको देश, सबैको कांग्रेस’ नारासहित प्रचारप्रसार अभियानमा होमिएका छन् । निधिले सभापतिका लागि मत माग्नुका साथै नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा जोड गरिरहेका छन् ।

सभापतिमा दाबी गर्दै आएका शेखर कोइरालाले ‘एकपटक, यसैपटक’ नाराअघि सारेका छन् । पौडेल समूहका अर्का नेता प्रकाशमान सिंहले ‘सबैको अस्तित्वः सबैखाले पहिचान’को नारा बनाएका छन् ।

कोइराला र सिंहले सर्वसम्मत आफ्नो समूहबाट पौडेललाई उम्मेदवार मान्न तयार छैनन् । पटकपटकको छलफल तथा बैठकमा कोइराला र सिंहले आफूहरूले सभापतिमा उम्मेदवारी दिने भन्दै प्रचारप्रसारमा जुटेका छन् । सभापतिमा उम्मेदवार घोषणा गरेका युवा नेता कल्याण गुरुङले ‘परिवर्तन, न्याय र समानता’को नारा अघि सारेका छन् ।

यस्तै, महामन्त्रीका उम्मेदवारीको घोषणा गरेका गगन थापाले अवधारणापत्र सार्वजनिक गरेका छन् । थापाले ‘समुन्नत नेपाली, सम्मानित नेपाली’को आवधारणासहित नारा अघि सारेका छन् । त्यसैगरी, महामन्त्रीका अर्का उम्मेदवार रहेका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा परिवर्तन हुनुपर्ने बताएका छन् । शर्माले ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ विषयलाई उठाएका छन् ।

महामन्त्रीका अर्का उम्मेदवार प्रदीप पौडेलले पुस्तान्तरण र वैचारिक रूपान्तरणको विषयलाई उठाएका छन् । ‘पुस्तान्तरणसहितको वैचारिक रूपान्तरण’ पौडेलले आफ्नो प्रचारका क्रममा भन्ने गरेका छन् ।

शर्मा र पौडेल दुवै नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् भने थापा पूर्व महासचिव हुन् । यसैगरी, पदाधिकारीसहित केन्द्र्र्र्रीय सदस्य पदका अन्य उम्मेदवारसमेत अनेक नारासहित प्रतिनिधिलाई रिझाउने प्रयासमा रहेका छन् ।

कतिपय उम्मेदवार उद्घाटन सत्रमा दलबलसहित प्रचार गर्दै छन् । सहमहामन्त्रीका उम्मेदवार रहेका फरमुल्लाह मन्सुर सडकमा नाराजुलुस गर्दै भृकुटीमण्ड पुगेका छन् । मन्सुरका समर्थकहरू चर्का नारा लगाउँदै कार्यक्रम स्थल प्रवेश गरेका छन् । देउवा समूहबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका मन्सुरले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । बन्दसत्रमा विभिन्न झाकीसहित नेताकार्यकर्ता तथा समर्थक पुगेका छन् ।