काठमाडौँ / सुडान घोटला काण्ड नेपालको चर्चित र ठूला भ्रष्टाचार मध्ये एक हो । नेपाल प्रहरीको शान्ति मिसन यसकै कारण बन्द छ ।

 
मनोबलका साथै देशको प्रतिष्ठा र इज्जत बढाउने भएकाले प्रहरीमा शान्ति मिसन लक्ष बन्थ्यो । तर, यहाँ पनि ठूलो भ्रष्टाचार भयो । मिसनको बदनाम भयो ।

OM Sai Pathibhara Hospital

सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको ४४ करोडको एपीसी मिसनका लागि आवश्यक बन्दोबस्तीका समानमा साढे २८ करोड बराबरको भ्रष्टाचार नै बदनाम र बन्दको कारण हो ।

प्रहरीको भाषामा शान्ति मिसनलाई फ्रम्ड पुलिस युनिट एफपीयू भनिन्छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्कै निर्णयअनुसार एफपीयू बन्द भयो ।

तर, प्रहरी अधिकारी यसलाई स्वीकार गर्न आनाकानी गर्छन्, यथार्थ भए पनि । नेपाल प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवर यसको समयावधि नै सकिएकाले बन्द भएको बताउँछन् । तर, पूर्वप्रहरी नायब महानिरीक्षक डीआईजी रमेश खरेल भ्रष्टाचारकै कारण एफपीयू मिसन बन्द भएको दाबी गर्छन् ।

एक महिनाअघि मात्रै सुडानबाट ८२ जना फर्किएपछि नेपालको टोली मिसनमा छैन । सुडानमा रहेका १८० जनाको टोली दुई पटक गरेर फर्किएको छ । हाइटी मिसन दुई वर्ष अघिदेखि नै बन्द छ । एक वर्षअघि यहाँका सबै प्रहरी फिर्ता आएका छन् । 

प्रहरी प्रवक्ता कुँवरले हाइटी र सुडान दुवै देशमा शान्ति मिसन बन्द भएकाले सुरक्षाकर्मी फर्किसकेको बताए । प्रहरी फर्किए तर, ती देशमा शान्ति स्थापना भइसकेको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।