बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धव थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ करोड बढी सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको भन्दै मुद्दा दायर गरेको छ ।

आयोगले हाल अवकाशप्राप्त थपलियाले ३५ वर्षे सेवा अवधिमा उक्त रकम गैरकानूनी रूपमा आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

OM Sai Pathibhara Hospital

आयोगका अनुसार २०४० फागुन ६ देखि अवकाश भएको मिति २०७५ चैत ३० सम्ममा सृजित सम्पत्ति एवं खर्च तथा लगानीहरूमा गरिएको कुल खर्च र सोही अवधिको आयव्यय प्रवाहको विवरणअनुसार जाँच अवधिमा १ करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँको स्रोत खुलेको छ । यहीअनुसार उनले सृजना गरेका सम्पत्ति एवं खर्च तथा लगानी २ करोड ६७ लाख ७१ हजार ९ सय ५८ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ ।

यसमध्ये १ करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँको आर्जन स्रोत पुष्टि नभएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । उनीविरुद्ध सोही स्रोत नखुलेको सम्पत्ति बिगो भराउन माग गरिएको आयोगले जनाएको छ । आयोगले उनको नाममा भएका घरजग्गा तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १६ ग, दफा २९ को उपदफा १ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा अख्तियारसम्बन्धी ऐन २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने मागदाबी गरिएको छ ।

यसबाहेक उनकी श्रीमती मुना पन्त थपलियासमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न मागदाबी गरिएको आयोगले जनाएको छ ।